
असार पन्ध्र गते दहि च्यूरा खाने दिन, साउन १५ गते खिर खाने दिन तर यहाँ बैशाख पन्ध्र गते पनि यस्तै नयाँ चाड आउदैछ फिल्मकर्मीका लागि । बैशाख पन्ध्र खाने कुरामा आधारित भएर त्यस्तो महत्वपूर्ण दिन नभएपनि सो दिनबाट झण्डै आधा दर्जन फिल्म सुटिङका लागि फ्लोरमा जाने छन् । सुरज सुब्बाले निर्देशन गर्ने मेरो भ्यालेनटाईन, शिव रेग्मीको शो सिम्पल, शोभित बस्नेतको जाऊ हिंड पोखरा, कृष्ण चापागाईको ब्याफ्रेण्ड र रामराजा दाहालले निर्देशन गर्ने बटालियन फाईभको सुटिङ डेट सोही दिन तोकिएको छ ।
मेरो भ्यालेन्टाईन चार जना साथीको कथा हो जसमा निशा अधिकारी, बाबु बोगटी, स्वतन्त्रप्रताप शाह र हिरोईनमा डेब्यू गर्दै सुस्मिता ढकालले लिड रोल निभाउँदै छिन् । यस्तै जाऊ हिंड पोखरामा रेखा थापा र जीवन लुईटेल मेन रोलमा रहेका छन् भने ब्याफ्रेण्ड र बटालियन फाईभको लागि आर्टिष्ट फाईनल भैसकेका छैनन् । 'सम्भवत: १५ गते जाने सोच हो सोही अनुरूप डिसिएनको क्यामेरा पनि बुक गरेको छु हेरौ के हुन्छ', रामराजा दाहालले भने । बटालियन फाईभ बिद्रोह सम्बन्धी फिल्म हो जसलाई डेढ बर्ष अघि देखि रामराजाले निर्माण गर्ने बताउँदै आएका थिए ।
आखिर बैशाख १५ गते के छ जसले सोही डेटमा आँखा लगाईरहेका छन् त भन्ने प्रश्नमा सोभित बस्नेत भन्छन्, 'मैले फिल्म १२ गते तिर पनि सुरू गर्न सक्थे किनकी रेखा र जीवन दुवै फ्रि छन् तर पन्ध्र गते सजिलो डेट भएकाले सोही दिनबाट फ्लोरमा जान लागेको हुँ ।' जाऊ हिंड पोखरा शोभितको पच्चिसौ फिल्म हो जसलाई उनले उत्कृष्ट बनाउने लक्ष्य लिएका छन् । जसकारण पनि हुन सक्छ उनले रेखालाई साढे चार र जीवनलाई पाँच लाखमा अनुबन्धीत गरेको । सो फिल्मको सर्लाही, काठमाण्डू र अधिकाश पोखरामा सुटिङ हुने छ ।
यस्तै अघोषित रूपमा केही फिल्महरू पनि सोही डेटबाट फ्लोरमा जाने बुझिएको छ । किनकी बैशाख पन्ध्र गतेदेखि फिल्म सुरू गर्दा ढिलोमा जेठ लाष्टमा सकिने र असारमा पानी पर्ने सिजनमा सुटिङ अबरूद्ध हुनबाट जोगिने तर्कले पनि बैशाख पन्ध्रलाई फिल्म मेकरहरूले रोजेका हुन् ।