
फिल्ममेकर र काठमाण्डू मलमा सपिङ गर्न रूचाउनेहरूलाई खुशीको खबर । स्थापनाको छ बर्ष भैसकेको शो मलमा फिल्म हल खोलिने भएको छ । शोभित बस्नेत निर्देशित फिल्म 'वरदान' मार्फत प्रोड्यूसरको रूपमा परिचित बनेकी कविता श्रेष्ठले काठमाण्डू मलको छैठौं तल्लामा फिल्म हल खोल्ने तयारी सुरू गरेकी छिन् ।
छैठौं तल्लामा रहेको आफ्नो ग्यालेक्सी पार्टी प्यालेसको साईडको फ्ल्याटमा रहेको रेष्टुरेन्ट बन्द भएपछी कविताले सानो इन्डष्ट्रीलाई आफ्नो तर्फबाट केही राहत दिन लागेको भन्दै फिल्म हल खोल्न लागेकी हुन् । उनले ९ हजार बर्गफिटको एरियामा १ सय ९५ सिट क्षमतामा अत्याधुनिक हल खोल्ने तयारी सुरू गरिसकेकी छिन् । 'दुई वटा फिल्म बनाउदा एक करोड सकेको छु त्यसैले दुईवटा फिल्म बनाएको अनुभवमा हल खोल्न लागेकी हुँ', कविताले बताईन् ।
कवितालाई श्रीमान् तथा दुबईका एनआरएन मन्जिल श्रेष्ठले हल निर्माणमा सहयोग गरिरहेका छन् । निर्माण कार्य चलिरहेका बेला मन्जिलले भने, 'कविताले रहर गरेर एउटा फिल्म बनायो त्यसपछी फेरी अर्को र फिल्मको नशाले मलाई पनि तान्यो । जसकारण म पनि यो क्षेत्रमा सक्रिय भएर लाग्न थालेको हुँ ।' मन्जिलका अनुसार संगै रहेको पार्टी प्यालेसको विजनेस फिल्म हलको भन्दा कम भएमा सो स्थानमा थप दुई हल खोलेर मल्टिप्लेकस बनाईने छ । यस्तै मलको अन्तिम एवं सातौ तल्लाको आधा फ्ल्याटमा फिल्मको पोष्ट प्रोडक्सन अफिस समेत खोल्ने तयारी भैरहेको उनले जानकारी गराए ।
हल आउदो दशै सम्म तयार गरिने कविताको लक्ष्य छ । हलको नाम 'काठमाण्डू सिनेमा हल' राखिने छ । पछिल्लो समय जति पनि सपिङ मल सञ्चालनमा आएका छन् त्यसमा हल खोलिदा समग्र मलको बिजनेस समेत बढ्ने गरेको पाईएको छ । तसर्थ नयाँ खुलेका सिभिल मल र सिटी सेन्टरमा फिल्म हलको कारण त्यहाँको ब्यापार अन्य मलको भन्दा बृद्धी भै रहेको समिक्षा बाहिरिन थालेका छन् । तसर्थ हल सञ्चालनमा आएपछी काठमाण्डू मलको समग्र ब्यापार बढ्ने कविताको तर्क छ । कविताले 'वरदान' पछि निर्माण गरेको फिल्म 'प्लान' हो जुन जेठको पहिलो हप्तादेखि देशब्यापी रिलिज हुदैछ ।