
प्लानेट ३ फिल्म्सले आयोजना गरेको स्क्रिप्ट कम्पिटिशनमा अहिले सम्म ४० स्क्रिप्ट प्रतिष्पर्धाका लागि सहभागी भएको आयोजकले जनाएको छ । स्क्रिप्ट बुझाउन अझै १४ दिन बाँकी रहेकोले आयोजकले अझै धेरै स्क्रिप्ट आउने आश गरेको छ ।
स्क्रिप्ट बुझाउने अन्तिम मिती अप्रिल ३० तारिख रहेको बताउँदै आयोजक सदस्य अपिल बिष्टले जुन १५ मा सहभागी स्क्रिप्टबाट उत्कृष्ट १० छानेर अन्तिम निर्णय दिने बताए । उत्कृष्ट फिल्मलाई प्लानेट ३ फिल्म्सले १ लाख २५ हजार रूपैँया नगद दिने घोषणा गरिसकेको छ । साथै प्लानेट ३ फिल्म्सले सोही उत्कृष्ट स्क्रिप्टमा फिल्म समेत बनाउनेछ । प्लानेट ३ फिल्म्सकै फाउण्डर अर्जुन सुवेदीले सो फिल्मको निर्देशन गर्नेछन् भने मनोज अधिकारी, सन्दिप देवकोटा र अजय भट्टराईले फिल्ममा लगानी गर्नेछन् ।
नेपालबाट कलाकार र केहि टेक्निसियन लगेर अमेरिकामा नै छायाँकन गर्ने सो सिनेमालाई अपिल बिष्ट फिल्मले वितरण गर्नेछ । हाई बजेटमा निर्माण गर्ने सो फिल्मसका लागि स्क्रिप्ट अमेरिकाको जनजीवन सुहाउँदो हुनु पर्ने भएकाले कम्पिटिशनमा भाग लिन चाहनेले सो बिषयलाई ध्यान दिनुपर्ने देखिन्छ । अहिले कम्पिटिसनमा आएका अधिकांश स्क्रिप्ट माया प्रेमका रहेको अपिलले जानकारी गराए । साथै केहि एक्सपेरिमेन्टल स्क्रिप्ट पनि प्रतिष्पर्धामा आएको अपिलको भनाई छ ।
पहिलो पटक यसरी खुल्ला प्रतिष्पर्धा मार्फत गरिको स्क्रिप्ट लेखन प्रतियोगिताको निर्णायकमा दिपक रौनियार, अपिल बिस्ट, अर्जुन सुबेदी, मनोज पण्डित, छिरिङ रितार शेर्पा रहेका छन् । स्क्रिप्ट नेपाली या अंग्रेजी भाषामा बुझाउन सकिनेछ ।
थप जानकारीका लागि : www.planet3films.com