
छलफल विना अन्तिम समयमा मूल आयोजक समितिमा राखिएको विषयमा असन्तुष्टी जनाउदै निर्देशक समाजले सुर्खेतमा हुन लागेको चलचित्र महोत्सव बहिस्कार गरे लगत्तै चलचित्र द्धन्द कलाकार संघले पनि महोत्सवलाई बहिस्कार गरेको छ ।
महोत्सव मिति सुरु हुनु एक साता अघि मूल आयोजक समितिमा राखिएको पत्र पाएपछी अचम्मित हुदै द्धन्द संघका अध्यक्ष योगेन्द्र श्रेष्ठले विना छलफल मुल आयोजक समितिमा राखिएको प्रति आपत्ती जनाएका हुन् । उनले भने, 'यो महोत्सव विकास बोर्डको मात्र देखियो हामीलाई आयोजक समितिमा राख्ने भए धेरै अघि जानकारी दिनु पर्थ्यो त्यसैले बोर्डले गर्न लागेको महोत्सवलाई संघले बहिस्कार गरेको छ । '
यस्तै केपी पाठक जो निर्देशक समजाका अध्यक्ष हुन् उनले आदेशात्मक रुपमा मूल आयोजक समितिमा बोर्डले पत्र पठाउनु गल्ती भएको भन्दै समाजको तर्फबाट कोही सदस्य महोत्सवमा सहभागी नहुने निर्णय गरि सकिएको जानकारी गराए । उनले भने 'मूल आयोजक समितिमा राखेपछी बजेटिङ प्रक्रिया, जुरी छनौट एवं महोत्सवका लागि चाहिने अन्य बिषयमा पनि बोर्डले आफूरुसंग छलफल गर्नु पथ्र्यो तर साक्षी को रुपमा मात्र आयोजक समितिमा राखिएको खबर ईलेभेन्थ आवरमा थाहा पाएपछी यो बिषयमा बोर्डको गलत नियत देखिन्छ ।'
यस्तै बोर्ड सदस्य निलहरी काफ्लेले निर्देशक समाजले आफ्नो कार्यक्रम बहिस्कार गरेको प्रसङ्गलाई प्रतिगामी समूहको असन्तुष्टी भनी टिप्पणी गरेका छन् । उनले भने, 'उद्योगमा दुई पक्ष जो अहिलेको किचलो अवस्थालाई यथावत राख्न चाहन्छ र अर्को नयाँ सोच भएको तर निर्देशक समाजले आदेशात्मक भन्ने शब्द प्रयोग गर्नु प्रतिगामी भाषा हो ।' बैशाख ८ गते देखि १० गते सम्म बीरेन्द्रनगरमा हुने महोत्सवका लागि बोर्डले प्राविधिक संघसंग पनि छलफल नगरेको भन्दै अध्यक्ष सन्तु तामाङले पनि आफ्नो संघले महोत्सव बहिस्कार गर्ने प्रबल सम्भावना रहेको बताएका छन् । उनले भने, 'मूल आयोजक समितिमा राख्न चाहि राख्ने तर महोत्सवका बिषयमा कुनै जानकारी थाहा नहुदा क्लियर कुरा भएन त्यसैले यो बिषयमा संघको असन्तुष्टी छ ।'
यस्तै उता चलचित्र कलाकार संघले पनि बोर्डले गर्न लागेको महोत्सवका बिषयमा अनभिज्ञता देखाएको छ । अध्यक्ष रमेश बुढाथोकीले भने, 'आजभोली कहिले महोत्सव हुने कुरा सुनिराछु तर हामीलाई औपचारिक रुपमा कुनै जानकारी छैन ।' उनले पनि सम्भवत आफ्नो संस्थाको तर्फबाट महोत्सवमा सहभागीता जनाउने सम्भावना न्यून रहेको बताए । यस्तै प्रदर्शकहरुको संस्था चलचित्र संघले यस अघि नै बोर्डको दश बुंदे कार्ययोजनामा असन्तुष्टी जनाईसकेकाले उसले पनि महोत्सवलाई साथ दिने कुरा भएन ।
तर चलचित्र निर्माता संघले भने महोत्सवका बिषयमा सुरु देखिनै आफूहरुसंग बोर्डले छलफल गरिरहेकाले महोत्सवमा एक्यवद्धता जनाएको छ । अध्यक्ष राजकुमार राईले भने, 'अन्य संस्थासंग विकास बोर्डको छलफल र समन्वयमा कमि देखिएका होलान् तर आफूरुलाई सुरुवात देखिनै समन्वय गरेकाले विरोध छैन ।' यस्तै उनले बोर्डले जुन उद्देश्यले महोत्सव गरेपनि यसले चलचित्र क्षेत्रलाई थप बृहत बनाउन मद्धत पुर् याउने प्रतिक्रिया दिएका छन् ।
त्यस्तै बोर्ड अध्यक्ष गणेश भण्डारीले मूल आयोजक समितिमा अन्य संस्थालाई सेरेमोनियल सदस्यको रुपमा राखिएको भन्दै यो बिषयमा असन्तुष्टी जायज नभएको बताए । उनले भने, 'मैले फोनमा पनि ती संस्थाका प्रतिनिधिलाई महोत्सवका बारेमा जानकारी गराउदै आएको थिए तसर्थ मोफसलमा हुन लगेको महोत्सवमा उहाँहरुलाई सेरेमोनियल ढङ्गमा मूल आयोजक समितिमा चयन गरिएको हो । आयोजक समितिमा बसेपछी खट्नु पर्ने हुन्छ जुन सम्भव थिएन ।'
तीन दिने महोत्सवका न्यूनतम २० लाखको बजेट छुट्टयाईएको छ । जसका लागि बोर्डले आफ्नो नेतृत्वमा करिब ६० जना फिल्मकर्मीको लिएर बैशाख सात गते सुर्खेत प्रस्थान गर्दैछ । महोत्सवमा रिलिज हुन लागेका तीन फिल्म फूल सायद र किसान प्रदर्शन गरिने छ । यस्तै रिलिज भैसकेको मसान र थारु भाषाको बुरान पनि प्रदर्शन गरिने बोर्डले जनाएको छ ।
चर्चा यो पनि…
दुई पटक बोर्ड अध्यक्ष भैसकेका गणेश भण्डारीले पहिलो कार्यकालमा जसरी स्याबास र तारिफ पाए दोस्रो कार्यकालमा पाएनन् । विशेषत दोस्रो कार्यकालमा उनको योजनाको धेरै आलोचना भयो । तसर्थ अधिकाश चलचित्रकर्मीले सुर्खेतमा हुन लागेको महोत्सवलाई उनले आगामी दिनमा चाल्न लागेको नयाँ चाल भनी तर्क गर्न थालेका छन् । कलिउड नगरीमा यो बिषयलाई भण्डारीको राजनीतिमा हाम फाल्ने योजना भएको पनि चर्चा चल्न थालेको छ ।
किन कि भण्डारीको घर सुर्खेतको लाटी कोईली भन्ने ठाउँमा हो । जसकारण आफ्नो क्षेत्रमा चलचित्र महोत्सव गरेर उनी पावर कलेक्ट गर्न चाहन्छन् । माओवादी निकट भण्डारीले यो पटक पावर शो गरे उनलाई पार्टीले टिकट दिन सक्ने प्रबल सम्भावना पनि छ । तसर्थ नयाँ संविधान करिब बन्ने निश्चित भएको अवस्थामा आगामी चुनावबाट लड्ने उद्देश्य सहित भण्डारीले गृहनगरमा चलचित्र महोत्सव गरेका हुन भन्ने बहस फिल्मनगरीमा चलिरहेको छ ।