
नयाँ वर्षको अवसर परेर रिलिज भएका दुई फिल्म मृगतृष्णा र रावण बन्दको मारमा परेका छन् । देशभरकै हलमा हिजो आक्रमक कलेक्सन गरेका यी दुवै फिल्मलाई माओबादीको असन्तुस्ट खेमा जनयुद्ध रक्षा फ्रन्टले गरेको मेचीकोशी बन्दका कारण ब्यापारमा ठुलो झट्का लागेको छ । आज शनिबार बिदाको दिन फिल्मले राम्रो व्यापार गर्ने भएपनि बन्दको कारणले फिल्म प्रदर्शन भैरहेका मेची कोशीका अधिकांस हल संचालनमा आउन सकेनन् । पुर्वमा नेपाली फिल्म प्रदर्शन हुने मेजर हलहरु मेची कोशीमै पर्ने हुनाले रिलिज फिल्मले ठुलो घाटा बेहर्नु परेको छ ।
बिर्तामोड, धरान, पथरी लगायतका स्थानको हलहरुमा आज फिल्म प्रदर्शन हुन सकेन । दमकमा रहेको तीनओटै फिल्म हल संचालनमा आए पनि दर्शकको उपस्थिति हलमा हुन सकेन । आफुले हल खोले पनि फिल्म हेर्ने दर्शकको संख्या पचास भन्दा माथि नकाटेको जानकारी दमक स्थित पाथिभारा हलका म्यानेजर एवं वितरक चैतन्य बरालले जानकारी गराए । फिल्मको व्यापार राम्रो हुने दिनमा बन्द भैदिदा आफुहरु मारमा परेको उनको कथन थियो । यसअघि पनि राम्रा ब्यानरका फिल्म रिलिज हुँदा पुर्वान्चल बन्द भएको थियो ।
नयाँ वर्षको पहिलो दिन हिजो दुवै फिल्मले पुर्वको मेजर हलमा १ लाख माथिको ग्रस कलेक्सन गरेका थिए । यसरी आज गरिएको बन्दले त्यहि अनुपातको घाटा दुई फिल्मलाई दिएको छ । रावण र मृगतृष्णा दुवैलाई आजको बन्दले ४-६ लाख सम्म घाटा पुर्याउने हल संचालक एवं वितरक बताउछन् । यस्तै जनमुक्ति पार्टी लगायत अन्य साना दलले बैशाख ३, ४ र ५ गते नेपाल बन्दको घोषणा गरेका छन् । नयाँ वर्षको थालनीसंगै नेपाली फिल्मको ब्यापारमा केहि राहत दिने आशा गरिए पनि लगातारको बन्दले ठुलो असर पुर्याउने निश्चित छ ।