
सबैले सोचे भन्दा फरक रूपमा प्रस्तुत हुँदै फिल्म 'रावण' ले आज कलेक्सनमा रेकर्ड नै राखेको छ । मूल धारको फिल्मको दिन सकिएको अनुमान लगाउँदै गर्दा रावणले आज शुक्रबार एक दिनमै करिब ६० लाखको कलेक्सन गरेको बितरक नरेन्द्र महर्जनले फिल्मीखबरलाई जानकारी दिए ।
चैत्र २७ गतेबाट राजधानी बाहिरका सिनेमा घरमा प्रदर्शनको शुरूवात गरेको रावण आजबाट राजधानीमा चलेको हो । शुरूको दिन नै राम्रो कलेक्सन गरेको सो फिल्मले आज देशभरका करिब ७० पर्दामा स्क्रिनिङ भएको थियो । शत प्रतिशत पर्दा हाउसफुल भएकोले रावणको टोटल कलेक्सन ६० लाख भन्दा बढि भएको बताउँछन् बितरक महर्जन । उनका अनुसार नाईट शोको कलेक्सन आईनसकेकाले अहिले ६० लाख नै ग्रस कलेक्सन मानिएको छ ।
रावण हेर्न दर्शक उर्लेकोमा खुसी व्यक्त गर्दै महर्जनले भने, 'आज र भोलीको कलेक्सनले नै हाम्रो लगानी उठ्छ । बाँकिका दिनबाट आउने रकम हाम्रो नाफा हुनेछ ।' दैनिक २ शो चलाउने हेटौंडाको हलले आज ४ शो चलाएको हल सञ्चालक समेत रहेका बितरक नरेन्द्रले बताए । उनले भने, 'हलमा पर्दा र सिट थप्न मिल्ने भए आज करोडको व्यापार हुन्थ्यो होला ।' तर पनि केहि हलले त सिट भन्दा बढि दर्शक राख्न बाध्य भएको नरेन्द्र बताउँछन् । भन्छन्, 'जसरी पनि फिल्म हेर्नु पर्यो भन्दै दर्शक कराउन थाल्छन् अनि ओभर फ्लो हुनेनै भयो ।' आज केहि हलमा दर्शको चापका कारण लाठी चार्ज समेत गर्न परेको नरेन्द्रले बताए ।
मूलधारको सिनेमा राम्रो बनाए चल्छ भन्ने उदाहरण रावणले देखाएको भन्दै निर्माता छबि ओझाले अबको फिल्म पनि मूल धारकै बनाउने बताए । पोखराको बिन्ध्वाबासिनी हलका सञ्चालक उत्तम दुवाले आफूलाई मूल धारको क्वालिटी युक्त सिनेमा बनाउन सल्लाह दिएको बताउँदै छबिले भने, 'अबको फिल्म अझै छोटो मिठो बनाउछु ।' रिलिज पूर्व नै आफ्नो फिल्म हिट हुने अनुमान लगाएका छबिले आफ्नो अनुमान शत प्रतिशत मिलेको बताउँदै हर्षका साथ भने, 'म दर्शकलाई ध्यानमा राखेर फिल्म बनाउँछु र त आज हलमा दर्शकको मेला देख्न पाईएको छ ।' नारी प्रधान फिल्म बनाउने छबिले रावण हेर्न महिला दर्शकको बढि भिड रहेको बताए ।
रेखा फिल्म्सको ब्यानरमा निर्माण भएको रावणमा रेखा थापा मुख्य भुमिकामा छिन् भने उनलाई सबिन श्रेष्ठ र किशोर खतिवडाले साथ दिएका छन् । फिल्मलाइ कमलकृष्ण पौडेलले निर्देशन गरेका हुन् ।