मिति : २०८२ ज्येष्ठ ५, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(7 votes, avg 4.00/5.00)
Text size:-
+
-

०६८ सालका चर्चित घटना, गसिप र स्क्यान्डल

फिल्मीखबर, काठमाण्डौ, 2012/04/13

वर्ष ०६८ ले गुमाएका अमूल्य निधि
यस वर्ष २०६८ मा पनि फिल्म क्षेत्रले केही महत्वपूर्ण व्यक्तित्वको निधन खेप्नुपर्‍यो । जसकारण नेपाली फिल्म उद्योगलाई अपुरणीय क्षति भएको छ । यसरी निधन हुनेमा करिब डेढ दर्जन फिल्म निर्देशन गरिसकेका निर्देशक दीपक रायमाझी पर्छन् । उनको निधन कार्तिक २ गते बुधबार अप्रत्याशित रुपमा भयो । रहस्यमय रुपमा भएको यस मृत्युको वास्तविक कुरा अहिलेसम्म सार्वजनिक हुन सकेको छैन ।

 

अभिनेत्री सुशीला रायमाझीको पनि यसै वर्ष निधन भयो । उनको निधनलाई पनि रहस्यमय बनाउने प्रयास गरियो । धेरै भन्दा धेरै फिल्महरुमा चरित्र अभिनेत्री बनेर फिल्म चोटमा नायिका समेत बनेकी सुशीला रायमाझीको निधनलाई गुपचुप बनाउने प्रयास उहाँकै परिवारले समेत गर्‍यो । माघ १२ गते उनको असामयिक निधन भएको थियो । त्यस्तै यसैवर्ष फिल्म प्रदर्शक एवं निर्माता हरि द्वाको पनि निधन भयो । जसले फिल्म प्रदर्शनको क्षेत्रमा अपुरणीय क्षति बनाएको छ । त्यस्तै विभिन्न फिल्ममा सहायक भएका एवं केही टेलिफिल्म एवं डकुमेन्ट्रीमा छायाँकनको काम गर्दै आएका कानुरी शेर्पाको पनि छायाँकनको क्रममा नेपालगञ्ज जाँदै गर्दा गाडी दुर्घटनामा परी निधन भयो । यसै वर्ष प्रसिद्ध हाँस्य कलाकार हरिवंश आचार्यको श्रीमती तथा सञ्चारकर्मी मिरा आचार्यको पनि निधन भयो ।


वर्ष ०६८ ले जुराएको जोडी
फिल्म क्षेत्रमा क्रियाशील रहेका केही व्यक्ति व्यक्तित्वले यस वर्ष आफूलाई वैवाहिक बन्धनमा पनि बाँधे । यसरी दाम्पत्य यात्रा शुभारम्भ गर्नेमा अभिनेता निरज बराल, अभिनेत्री अनुष्का ढकाल, छायाँकार रामेश्वर कार्की, अभिनेत्री शोभिता सिंखडा एवं सञ्चारकर्मी निराज भण्डारी रहेका छन् । त्यस्तै फिल्म क्षेत्रमै क्रियाशील रही आएका पाका अभिनेताहरु भुवन केसी एवं शिव श्रेष्ठले पनि आफ्ना छोरी र छोराको विहे यसै वर्ष गराइदिए । त्यस्तै यसवर्ष निर्देशक निरक पौडेलले पनि विहेको इन्गेजमेन्ट गरे तर अहिलेसम्म उनले विहे भने गरिसकेका छैनन् ।



भुवन र शर्मिला काण्ड
यस वर्षको सुरुवातमै बैशाख २ गते रेजिना उप्रेतीले निर्माण गर्ने फिल्म ‘वरदान’को शुभसाइत समारोहमा अभिनेता भुवन केसीले आफ्नो नयाँ गर्लफ्रेन्ड भन्दै शर्मिला डंगोललाई मिडिया समक्ष निचाएपछि यो प्रसङ्गले धेरै समय चर्चा पायो । मिडियामा भुवन र शर्मिला रंगीए । यतिसम्मकी भुवन केसीलाई शर्मिला डंगोलको पतिले हातसमेत हालेको र हेल्मेटले हिर्काएको चर्चाले झन् मिडिया उछालिए । तर यसको ढाकेछोप गर्न भुवन तम्सिए । यही प्रसङ्गले भुवनको बाबु छोराको सम्बन्ध समेत बिग्रिएको हल्ला चल्यो । भुवनकी पछिल्ली पत्नी सुस्मिता समेत यस प्रसङ्गमा अगाडि आइन् । यद्यपी भुवन केसीले यो कुरालाई ढाकछोप गरी आफ्नो पछिल्लो फिल्म साथी म तिम्रोको प्रमोशनमा लागे ।

 

निखिल, सञ्चिता, कोपिला काण्ड
अभिनेत्री सञ्चिता लुइँटेल, अभिनेता निखिल उप्रेती एवं निखिलकी प्रथम पत्नी तथा संचारकर्मी कोपिला उप्रेतीको गसीपले पनि यो वर्ष निकै चर्चा पायो । यसै वर्षको भाद्र ४ गते श्रीकृष्ण जन्मास्टमीको दिन छोरा पाएकी सञ्चिताले त्यही दिन अर्को वर्ष अर्को बच्चा जन्माउने खबर आए लगत्तै यो चर्चाले निकै गसीप बन्ने मौका पायो । जन्मान्तरको विज्ञापन संगीनी सुईको समेत विज्ञापनमा देखिने गरेकी सञ्चिताले यो खबर सार्वजनिक गरे लगत्तै निखिलकी जेठी पत्नी कोपिलाले पनि आफू गर्भवती भएको खबर संचारमाध्यममा गराइन् । निखिलका यी दुई पत्नीको गर्भवती प्रतिस्पर्धाले निखिल, सञ्चिता र कोपिलालाई गसीपमा चर्चित बनाइराख्यो ।

 

निशाले तिरिन् एक रुपैयाँ
फिल्म थ्री लभर्सका लागि निर्देशक सुरेश दर्पण पोखरेलले अभिनेत्री निशा अधिकारीलाई मुद्दा नै दायर गरे । आफ्नो फिल्म थ्री लभर्समा अधिकारीले अभिनय गर्न सम्झौता गरे पनि पछि आएर सुटिङ सेड्युअल नमिलेपछि निशाले त्यो फिल्म छाडेकी थिइन् । त्यसको क्षतिपूर्ति माग गर्दै नेपाल चलचित्र निर्माता संघमा निशा विरुद्ध मुद्दा हालेका सुरेश दर्पणले एक रुपैयाँ क्षतिपूर्ति स्वरुप पाए । साथै यसै वर्ष निशा अधिकारी पनि अर्को काण्डले समेत चर्चामा आइन् । पत्रकारले खिचिरहेको क्यामरा खोसेको आरोप लागेको उनलाई लुट फिल्मको ५१ दिने कार्यक्रममा नै समस्याको समाधान गरियो । अभिनेत्री निशा अधिकारी एवं मोडल साहना बज्राचार्यले फिल्म लुटको ५१ दिने कार्यक्रममा पत्रकारको क्यामेरा खोसेको प्रसङ्गले पनि यसपटक मिडियाहरु रंगिए । रेखा थापाले बोलेकै शब्दमा विवाद भइरहेको अवस्थामा एक हप्ता बित्न नपाउँदै अर्को यस किसिमको घटना भए पछि फिल्म पत्रकारहरु संगठित बन्दै अन्ततः अभिनेत्रीद्वयलाई स्टेजबाट माफी मगाउँदै यो प्रसङ्गलाई टुंग्याइयो ।


राजेश हमालको बालकुमारी काण्ड
उमेरले छेको काटिसक्दा पनि विहे गर्ने साइत नकसेका अभिनेता राजेश हमाललाई यसपटक गजबकै काण्ड घट्यो । वास्तवमा वर्ष ०६८ को मूल्यांकनमा घटेका काण्डहरु मध्ये हमालको यो काण्ड पनि प्रमुख चर्चामा रह्यो । प्रहरी हवल्दार रहेकी बालकुमारी अधिकारीले अभिनेता हमाललाई आफ्नो श्रीमान हो भन्दै प्रहरीमै मुद्दा हालिदिएपछि यो काण्डले निकै चर्चा पायो । तर जति नै चर्चा पाए पनि राजेश हमाल र बालकुमारी बीचको सम्बन्ध पुष्टि हुनसक्ने आधारहरु भने देखा परेनन् जसले गर्दा राजेश हमाल यो काण्डबाट त उम्किए तर उनी गसीपमा यस्तरी छाइरहेकी हमालको विहे कहिले हुन्छ भन्ने कुराले सायद हमाल आफैँ कन्फ्यूज्ड भइरहेका होलान् । अन्ततः उनले आफ्नो गर्लफ्रेण्ड रहेको र ऊसँग चाँडै विहे गर्ने सुरसार कसेको पनि बताए । तर उनका ज्यातिषीले हमाललाई सन् २०१४ सम्म विहे गर्न अनुपयुक्त रहेको भनेर बताइदिएपछि अभिनेता हमाल अहिले १४ कुर्नमै व्यस्त छन् । संख्यात्मक हिसाबले भन्ने हो भने राजेश हमालले सबैभन्दा धेरै फिल्ममा अभिनय गरेको पुष्टि यो वर्ष पनि भयो । रिलिज रहेका सबैजसो फिल्ममा कुनै न कुनै भूमिकामा कतै न कतै हमाल देखिइरहेका हुन्थे । तर फिल्महरुले सफलता प्राप्त गर्ने भन्ने कुरा चाहिँ परकै रह्यो । बरु हमाललाई बालकुमारी काण्डले नै गसीपका माध्यमबाट नै किन नहोस् वर्षभरि चर्चामा राखिराख्यो ।


समिक्षक पण्डित हनुमान ढोकामा
सिनेमा पण्डितको रुपमा फिल्म उद्योगमा चिनिँदै गरेका निर्देशक मनोज पण्डित यो वर्ष समिक्षकको रुपमा पनि देखा परे । तर उनले समिक्षा गरेका  हरेक समिक्षाहरु विवादमा पर्ने गरे । यसैलाई आधार मानेर फिल्म ब्रेकफेलको समिक्षा निकै नै विवादस्पद बन्यो । त्यस फिल्मकी निर्मात्री एवं अभिनेत्री ऋचा घिमिरेले समिक्षाका माध्यमले निर्देशक मनोज पण्डितले आफूलाई होच्याएको भन्दै हनुमान ढोकामा मुद्दा नै दायर गरिन् । जसका कारण प्रहरीले निर्देशक पण्डितलाई हनुमान ढोका पुर्‍यायो । नेपाली फिल्मको इतिहासमै यसरी कुनै फिल्मका बारेमा समिक्षा गरेकै आधारमा प्रहरीले पक्रेर लगेको यो पहिलो घटना थियो भने पत्रकार भन्दा पनि निर्देशकको परिचय बोकेकै कारणले सायद निर्देशक पण्डितलाई पत्रकार एवं पत्रकारका संस्थाहरुले यस विषयमा खासै आवाज उठाएको पाइएन । निर्देशक पण्डितले लेखेका अन्य धेरै समिक्षाले पनि विवादहरु भने भइ नै रहे ।

क्यू सिस्टमको अन्त्य
फिल्म प्रदर्शनमा राखिएको पालो प्रणाली (क्यू सिस्टम) ले यसपटक चर्चा, विवाद सबै खेप्नुपर्‍यो । वर्षको सुरुवातमै पालो प्रणालीको विरोध गर्ने निर्माताहरुको समूहले नेपाल चलचित्र निर्माता संघलाई नै घेरा हाल्ने भएपछि प्रहरीको सुरक्षासमेत माग गर्नुपर्‍यो । अहिले अन्त्यमा आएर पनि पालो प्रणालीको विरोध गर्ने प्रदर्शकहरुसमेत निस्किएपछि अहिले प्रणाली रहेको र नरहेको द्विविधामा छ । गत हप्ता मात्रै विश्वज्योति सिनेमा भवनले पालो प्रणालीलाई नमान्दै म तिम्रो भइसकेँ प्रदर्शन भइसकेको छ भने यो सिस्टमको मारमा परेका केही फिल्महरु लामो समयदेखि कुरिरहेकाले तिनीहरुलाई कसरी प्रदर्शनमा ल्याउने भन्ने समस्या अर्कोतिर देखा परेको छ । जे हास् यतिखेरको अवस्था पालो प्रणाली खारेज भइसकेको रुपमा छ । र, बाँकी रहेका अथवा पालो प्रणाली कुरिरहेका ती फिल्मलाई व्यवस्थित प्रदर्शनका लागि व्यवस्था मिलाउन निर्माता संघ र चलचित्र संघले वार्ता टोली समेत बनाइसकेको छ ।

 

अमेरिका पलायन
संगीतकार शम्भुजित बास्कोटा, गायिका मल्लिका कार्की, अभिनेत्री युना उप्रेती, अभिनेता दिवस उप्रेती, हाँस्यकलाकार गोपाल नेपाल फिस्टे, फिल्म निर्माता जयप्रकाश रिजाल एवं हाँस्यकलाकार निर्मल शर्मा लगायतका कलाकारकर्मीहरु अमेरिकामा बहिगर्मन भएपछि यो वर्ष यो प्रसङ्गले निकै नै चर्चा पायो । समूहमा गएका मध्ये निर्मल शर्मा, शम्भुजित बास्कोटा, दिवस उप्रेती, मल्लिका कार्कीका विषयमा मिडियाहरुले धेरै नै उछालेपछि यो समूहचाहिँ फर्किएको छ भने अन्य उतै पलायन भएका छन् । राष्ट्रिय प्रतिभाका रुपमा रहेका सेलीब्रेटीहरु यसरी अमेरिका पलायन हुनु पीडाको विषय पक्कै हो । सायद यही कुरालाई बुझेर होला मिडियाहरुले यसै विषयमा गसीपहरु बनाइरहे ।

 

थप घटना छोटकरीमा

चलचित्र विकास बोर्डले असोज १ गते राष्ट्रिय चलचित्र दिवस घोषणा गर्‍यो र सेलिब्रेट पनि गर्‍यो । यस्तै पोखराबाट सर्दै दोलखामा फिल्म स्टुडियो बनाउने निर्णय सहित सुर्खेतमा राष्ट्रिय चलचित्र महोत्सवको तयारी गर्‍यो । यसैबर्ष नायिका अरूणिमा लम्सालले छोरीलाई जन्म दिईन् । नायिका बिनिता बरालको टपलेश फोटो काण्डले पनि ०६८ साललाई मज्जाले ततायो । यता लूट फिल्मले संसारभर लूट मच्चायो भने चपली हाईटले पनि कलेक्सनमा राम्रो रेकर्ड बनायो । गायिका अञ्जु पन्त र गायक मनोजराज सेवाको सम्बन्ध बिच्छेद पनि यसै बर्ष भयो । त्यसैगरी नायिका शुष्मा कार्की र निर्देशक सुदर्शन थापाको ब्रेकअप पनि ०६८ सालमा नै भयो । नायिका रेखा थापा र निर्माता छबि ओझाको सम्बन्ध बिच्छेदको हल्लाले पनि ०६८ लाई गर्मायो ।
 

फिल्मीखबरले उठाएको हिन्दी फिल्मको देली बेली काण्ड पनि ०६८ सालको मुख्य घटना मध्यको एक हो । सेन्सर गरेको फिल्मलाई सिनेमा हलले नकाटी देखाए पछि सेन्सर बोर्डले सो फिल्म केहि दिनका लागि व्याण्ड गर्‍यो । फिल्मकर्मी युवराज लामा राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिवमा नियुक्त भए भने चलचित्र विकास बोर्ड, चलचित्र संघ, प्राबिधिक संघ र चलचित्र पत्रकार संघको नयाँ कार्यसमिती चयन पनि ०६८ मा भयो । यस्तै ०६८ मै चलचित्र निर्माता संघ र चलचित्र संघले समग्र फिल्म उधोगको उत्थानका लागि भन्दै  १४ बुँदे ऐतिहासिक सम्झौतामा हस्ताक्षर गरे । चलचित्र विकास बोर्डले सार्वजनिक गरेको द्श बुंदे नीति तथा कार्यक्रम माथि चलचित्र संघको जुहारीले पनि निकै चर्चा पाएको बर्ष हो ०६८ । नेपाली फिल्मकर्मीका लागि सबैभन्दा खुसीको खबर ०६८ सालमा अत्याधिक मात्रामा नेपाली फिल्म अर्न्तराष्ट्रिय बजारमा पुगे ।