
२०६८ साललाई चलचित्र सफलताका हिसाबले हेर्दा नयाँहरुकै वर्ष भनेर बुझ्नुपर्ने हुन्छ । फिल्म लुटको सफलता नयाँ निर्देशककै थियो भने यसमा अभिनय गरेका कलाकारहरु सौगात मल्ल एवम् दयाहाङ राई समेत दर्शकहरुमा त्यति नचिनिएका अनुहार थिए । त्यस्तै चपली हाइटको सफलतासँग पनि नयाँलाई नै जोड्नुपर्ने हुन्छ । यसकी नायिका विनिता बरालको यो फिल्म डेब्यू थियो भने फिल्ममा राज घिमिरे डेब्यू अभिनेताको रुपमा थिए ।
चाहे मिस यूबाट आएका बरुण राणा हुन् अथवा अँगालो यो मायाकोबाट आएकी हर्षिका श्रेष्ठ नै किन नहुन् यिनीहरुको चर्चा पनि यस वर्ष रह्यो । यसो त बरुण राणा फिल्ममा फेरि आउलान् भन्ने आशा कम गर्न सकिएला । तर हर्षिका श्रेष्ठले आफूलाई यस क्षेत्रमा व्यस्त बनाइसकेकी छिन् । फिल्म दुलहीबाट भित्रिएकी सुमिना घिमिरे आफूलाई स्थापित हिरोइन बनाउन सफल भइसकेकी छिन् । यसै वर्षमा उनको छविलाल कन्जुस छैन, किन मायामा जस्ता आए ।
फिल्म आचार्यले व्यवसायिक सफलता नपाए पनि यसबाट भित्रिएका गायक अभिनेता सत्यराज आचार्यको चर्चा राम्रै भयो । तर उनले आफूलाई भोलि अभिनेताकै रुपमा अगाडि नबढाउलान् तर उनले सो फिल्मबाट आफ्नो चरित्रलाई भने चर्चायोग्य बनाउन सफल भए । त्यस्तै अन्दाजबाट भित्रिएका सविन श्रेष्ठको चर्चा पनि राम्रै भयो । म्यूजिक भिडियोहरु गरेर फिल्ममा आएका सविनले खेलेको अर्को फिल्म रावण चैतको अन्त्यमा प्रदर्शनमा आइसकेको छ । उनको चर्चा अन्दाजले नै पुष्टि गरिदिइसकेको थियो भने रावणले थप उनलाई उचाइमा लाने पक्कै छ ।
नेपाली फिल्मको पुरातन ट्रेन्डलाई चेन्ज गर्नुपर्छ भनेर पनि निर्देशकहरु देखापरे । चाहे सुदर्शन थापा हुन् वा सुरेश दर्पण पोखरेल नै किन नहुन् । नयाँ ट्रेन्डमा फिल्म निर्माण गर्नुपर्छ भन्नेमा लुटका निर्देशक निश्चल बस्नेत हुन् वा चपली हाइटका दीपेन्द्र के। खनाल नै किन नहुन् सबैको सोच फिल्मलाई नयाँ सोच दिनुपर्छ भन्ने नै हो । यी र यस्ता उदाहरण धेरै छन् नयाँ सोच र नयाँ शैलीका लागि । नयाँ अनुहार नयाँ प्राविधिकले नयाँ उपकरण प्रयोग गरेर नयाँ फिल्म दिनु नै वर्ष ०६८ को सन्देश हो भनेर बुझ्नुपर्ने हुन्छ । यसका लागि निर्माता, निर्देशक, कलाकार, प्राविधिक र नयाँ शैलीको फिल्मको आवश्यकता अब ०६९ ले महसुस गर्छ भन्नेमा हामी विश्वस्त छौं ।