
बधाई छ रेखा फिल्मसलाई जसले छैठौ प्रोजेक्टबाट पनि सफलता हासिल गर्ने लक्षण देखाएको छ । मार्केट शून्य भएको अवस्थामा गत दशैमा रिलिज भएको सो ब्यानरको फिल्म अन्दाजले लगानी सेभ गरेर जसरी प्रशंशा पाएको थियो त्यसैगरी रावणले पनि प्रोड्यूसरको गोजी तताउने प्रबल लक्षण देखाएको छ ।
सोमबारको अफ डेमा रिलिज भएको रावणले आज एक दिनमा ८ लाख ८३ हजार ग्रस मार्क गरेको वितरक नरेन्द्र महर्जनले कलेक्सन रिपोर्ट टिपाए । निर्धारित समय भन्दा चार दिन अघि त्यसमाथि सोमबार जस्तो ड्राई डेमा पनि फिल्मले यसरी उत्साहजनक रूपमा ईनिसियल बिजनेस गर्नु निकै राम्रो भएको महर्जन बताउछन् । ६५ लाखमा निर्मित रावणले ४२ थिएटरबाट सो ग्रस मार्क गरेको हो ।
रावणले कलेक्सनमा निकै कमजोर रहने लालबन्दीको बीणा चलचित्र मन्दिरबाट समेत आज ४१ हजारको व्यापार गरेको बताईएको छ । यस्तै पोखराको बाराही हलमा पनि रावणको शो हाउसफुल भएको रिपोर्ट प्राप्त भएको छ । विशेष गरी यो फिल्म भित्र सविन श्रेष्ठको एक्सनलाई दर्शकले ज्यादा रूचाएको रिपोर्ट छ । 'जब जब सविन पर्दामा आउँछन् तब तब दर्शकको ताली र सिठ्ठीले हल थर्किदा म तीन छक परें', ओम चलचित्र मन्दिर हेटौडामा रावण हेरिसकेपछी कलाकार ध्रुब न्यौपानेले बताए ।
यस्तै अफ डेमै फिल्मको बिजनेस उत्साहजनक भएपछी निर्देशक कमलकृष्णले फिल्मीखबरसंगको कुराकानीमा ग्रास लेभलबाट संघर्ष गरेर आएकाले मिहिनेत अनुसारको फल पाएको बताए । बैशाख एक गते देखि राजधानीमा समेत भित्रिएर थिएटर संख्या ४२ बाट ७२ पुर्याउने रावणलाई डिसिएनले वितरण गरेको हो । यस्तै क्यू प्रणाली खारेजसंगै रावण कलेक्सनमा अब्बल विश्वज्योति सिनेमा हल, अष्टनारायण , गुण र गोपी हलमा पनि रिलिज हुँदैछ । यि हलमा पनि उत्साहजनक रूपमा रावण चले फिल्मले आफ्नो लगानी सुरक्षित गर्नेछ । रावणलाई कमलकृष्णले डेब्यू फिल्मको रूपमा निर्देशन गरेका हुन् जहाँ रेखा थापाले फिल्मलाई पुरै बोकेकी छिन् ।