
धनमाया फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको फिल्म 'प्ले गर्ल' को आज इलाम कुटीडाँडामा रहेको पाथिभरा मन्दिरमा शुभ-मुहुर्त गरिएको छ । सम्पूर्ण छायांकन पनि इलाम आसपासका क्षेत्रमा हुने भएकोले फिल्मको मुहुर्त समेत यतै गरिएको हो । फिल्मको छायांकनको लागि काठमाडौँबाट शुटिंग युनिट हिजै इलाम आइपुगेको थियो ।
मुहूर्तको क्रममा फिल्मका निर्माता समिर कुमार खड्काले नरिवल फोडेका थिए भने लोकेश चन्द्र थापाले चलाएको क्यामेरामा नायक यधुसुधन कुँवर एवं नायिका पेस्ला कटुवालले मुहुर्त शट दिएका थिए । मुहुर्त लगतै फिल्मको छायांकन गरिने बताईए पनि मौसम अनुकुल नभईदिदा छायांकन सुरु हुन सकेन । हिजोबाट अकस्मात परेको झरी र बाक्लो हुस्सुले गर्दा फिल्मको छायांकन अवरूद्ध हुन पुगेको हो ।
विजय बिक्रम बस्नेतको निर्देशनमा बन्न लागेको फिल्म 'प्ले गर्ल' का निर्माता एवं लेखक समिर इलाम फिक्कलकै बासिन्दा भएको र फिल्मको कथा समेत इलाम आसपासमै केन्द्रित रहेकोले फिल्मको छायांकन यतै हुन लागेको हो । पछिल्लो समय सहरका केटीहरुमा देखिएको बिकृति र त्यसले निम्त्याउने अवस्थालाई फिल्मको मुख्य कथाबस्तु बनाईएको छ । पछिल्लो समयमा नै नेपाली फिल्ममा चल्न थालेको बेडसिन र अन्य धेरै रोमान्सका दृश्यहरु पनि फिल्ममा राखिएको छ ।
नयाँ कलाकारको भिड रहेको फिल्ममा नायक यधुसुधन कुँवर र केवल भुजेलले डेब्यु गरेका छन् । त्यस्तै नायिकाको रुपमा पेस्लाको अलावा कस्तुरी खरेल, परि शाक्य लगायतको अभिनय समेत रहने छ । करिब तीस दिनको छायांकन सेड्युल रहेको फिल्मको छायांकन सिक्किम र दार्जिलिङमा पनि गरिने भएको छ ।