
राष्ट्रिय अवार्ड प्राईभेट कम्पनीले गर्न लागेको बिषयमा चलचित्रसंग सम्बन्धीत संघसंस्थाले आपत्ती जनाएपनि गोपिकृष्ण मुभिजले सो अवार्ड जुनसुकै हालतमा गर्ने निर्णय गरेको छ ।
फिल्मीखबरसंगको कुराकानीमा गोपीकृष्ण मिडिया हाउसका स्टेशन म्यानेजर दयाराम पाण्डेले भने 'बैशाख १ गते देखि सक्रिय भएर मुभिजले नेशनल अवार्डको तयारी सुरु गर्दैछ ।' अवार्ड वितरण २०७०मा गर्ने उद्देश्य सहित गोपिकृष्णले बैशाख एक गते देखि फिल्म छनौट कार्य सुरु गर्न लागेको पनि पाण्डेले जानकारी गराए ।
यस्तै विवादका बाबजुत राष्ट्रिय पुरस्कार आफ्नो संस्थामार्फत वितरण गर्ने तयारी गरिरहेको गोपीकृष्ण मुभिजले नयाँ बर्ष २०६९ को छेकोमा टिभि फिल्मीको प्रस्तुतीमा पपुलर अवार्ड कार्यक्रम पनि गर्ने भएको छ ।
बर्षका २० उत्कृष्ट कलाकार छनौट गर्दे सो च्यानलले यहि बैशाख ३० गते न्यू ईयर ईभ नाईट मार्फत २० मध्येका उत्कृष्ट ३ कलाकार छनौट गर्दै सम्मान गर्न लागेको हो । पपुलर तर्फ दश अभिनेता र दश अभिनेत्री छनौटमा परेका छन् । जसका लागि एसएमएस भोटिङ्ग मार्फत दर्शकको मत संकलन गर्न गोपीकृष्णले आफ्नो प्रचारलाई तिब्रता दिएको छ । 'बर्षभरिमा गोपीकृष्ण टिभी फिल्मीका चर्चित २० अनुहारलाई हामीले सम्मान गर्न लागेका हौ त्यसमध्ये उत्कृष्ट तीन कलाकार न्यू ईयर ईभको दिन घोषणा गरिने छ ।' स्टेशन म्यानेजर पाण्डेले जानकारी गराए ।
स्थापनाको दुई बर्षयता पहिलो पटक बर्षका चर्चित कलाकार घोषणा गर्न लागेको टिभि फिल्मीले विभिन्न अवार्ड सेरोमोनी जस्तै च्यानल अवार्डमा पनि हावी हुने योजना कसेको हो । जसको पहिलो प्रयास स्वरुप दर्शक प्रतिक्रिया मार्फत उसले टेलिभिजन अवार्डको तयारी सुरु गरेको हो ।
पपुलर तर्फ अभिनेतामा भुवन केसी, राजेश हमाल, आकाश अधिकारी, आर्यन सिग्देल, राजबल्लभ कोईराला, जिवन लुईटेल, मुकेश ढकाल, सौगात मल्ल, दयाहाङ्ग राई र सविन श्रेष्ठ रहेका छन् । यस्तै अभिनेत्री तर्फ करिश्मा मानन्धर, रेखा थापा , अरुणिमा लम्साल, ऋचा घिमिरे, पुजना स्त्रिी, नम्रता श्रेष्ठ, सुष्मा कार्की, केकी अधिकारी, सुमिना घिमिरे र विनिता बराल रहेका छन् ।
२०६८मा आफ्नो टेलिभिजन मार्फत सर्वाधिक बजेका गित, दर्शकले लिएको कलाकारको नाम तथा सर्वाधिक न्यूज बजेको हिसावमा टिभीफिल्मीले २० चर्चित कलाकार छनौट गर्दै सर्वाधिक तीन चर्चित कलाकारलाई विशेष सम्मान गर्न लागेको हो ।