जेठ १२ गते रिलिज हुन लागेको 'द लास्ट किस' को प्रमोशन गर्न यति बेला निर्देशक बिबि फुयाललाई आफ्नो फेसबुकको भित्तै भरि आफ्नो फिल्मको समाचारहरु सेयर गर्न भ्याई नभ्याई छ ।
पछिल्लो समयमा चपली हाइटले चौतर्फी चर्चा पाए पछि यौन मनोविज्ञानमा आधारित फिल्महरु निर्माण हुन थालेका छन् । यो सिनेमाको पोस्टर र प्रोमो हेर्दा 'पोर्न' फिल्मको संज्ञा पाइसकेको छ तसर्थ प्रदर्शन अगावै यो फिल्म विवादमा तानिसकेको छ । तर यसलाई बिबि फुयालले खण्डन गर्दै फिल्म नहेरी त्यस्तो हल्ला गर्नु मुर्खता हो भनेका छन् । फिल्म दर्शकले हेरिसके पछि सन्तुष्ट हुने दाबी रहेको छ फुयालको ।
काठमाडौँ र धरानका बिभिन्न स्थलमा खिचिएको फिल्म अहिलेको युवा पुस्तलाई लक्षित गरि बनाइएको फिल्म हो जसमा प्रेम र यौन मनोविज्ञानलाई जस्ताको त्यस्तै उतारिएको निर्माण युनिटको भनाई छ । पुस्करजंग थापा, शोभीता सिम्खडा र सुरेश चौधरीको मुख्य अभिनय रहेको द लास्ट किसलाई युबराज खत्रीले निर्माण गरेका हुन् ।

