
बिकाश आचार्य निर्देशित प्रेमकथामा आधारित फिल्म 'म तिम्रो भईसकें' आज शुक्रबारबाट राजधानीका एक दर्जन भन्दा बढि हलमा लाग्दैछ । क्यू सिस्टमबाट गत साता रिलिज भएको फिल्म 'अमर प्रिती' ले होल्डओभर कायम गरेपछि अर्को क्यूको फिल्म रिलिज नहुँदा 'म तिम्रो भईसकें' ले राजधानीमा करिब सबै सिनेमा हल पाएको हो ।
निर्देशक आचार्यकै निर्माण तथा लेखन रहेको फिल्ममा बसन्त सापकोटाको संगीत, शम्भु सापकोटाको छायाँकन, हिमाल केसीको द्वन्द तथा कविराज गहतराजको नृत्यनिर्देशन रहेको छ । फिल्मका गीतमा दिपक लिम्बु र रजिना रिमालले स्वर दिएका छन् भने गीतहरू शैलेश आचार्य र दयाराम पाण्डेले लेखेका हुन् । फिल्ममा जम्मा तीन गीत समावेश गरिएको छ जुन अहिले चर्चामा पनि छ ।
रेड क्यामेराले छायाँकन गरिएको सो फिल्ममा काठमाण्डौ, धरान, बिराटनगर तथा दोलखाका रमणिय स्थान देख्न सकिन्छ । दशैंको छेकोमा राजधानी बाहिर तथा अस्ट्रेलिया र कतारमा समेत रिलिज भएको फिल्म 'म तिम्रो भईसकें' को प्रदर्शनको केहि सातामा नै निर्देशक आचार्यले नयाँ फिल्म 'रिदम' को निर्माणकार्यलाई अगाडी बढाउनेछन् ।