
अन्तत: ६ बर्ष देखि जारी रहेको क्यू सिस्टम पूर्ण रुपमा हट्ने भएको छ । विश्वज्योति प्रकरणबाट सुरु विवादमा राजधानीका सम्पूर्ण प्रदर्शकले खुला प्रणालीमा जाने बिषयमा ऐक्यबद्धता जनाएपछी पालो कुरेर फिल्म प्रदर्शन गर्ने प्रणाली खारेजको अन्तिम चरणमा पुगेको हो ।
क्यू सिस्टम हटाउन चलचित्र निर्माता संघ पनि सहमत भएको छ । 'दुई चरणमा आज बार्ता भयो त्यसकारण क्यू सिस्टमलाई सहमतिमा हटाउने निर्णय भएको छ', दोस्रो चरणको बार्ता पश्चात निर्माता संघका अध्यक्ष राजकुमार राईले जानकारी गराए । पहिलो चरणमा आज चलचित्र बिकास बोर्डमा बोर्डको तर्फबाट सदस्य निलहरी काफ्ले, चलचित्र संघको तर्फबाट रामबीर मानन्धर, मधुसुदन प्रधान र निर्माता संघको तर्फबाट अध्यक्ष राजकुमार राई र उपत्यका वितरक सभापति सुनिल मानन्धर सहभागी थिए ।
पहिलो चरण पश्चात चलचित्र संघमा निर्माता संघ र चलचित्र संघको तर्फबाट अध्यक्ष र महासचिवको दोस्रो चरणको बैठक बसेको थियो । जुन बैठकले क्यू प्रणाली हटे पनि क्यूमा रहेका ४० फिल्मलाई कसरी रिलिज गर्ने भन्ने बिषयमा केन्द्रित भएर चार सदस्य कार्यदल गठन गरेको छ । कार्यदलमा निर्माता संघको तर्फबाट महासचिव केशव भट्टराई र सुनिल मानन्धर रहेका छन् भने चलचित्र संघको तर्फबाट रामबीर मानन्धर र मधुसुदन प्रधान रहेका छन् । सो कार्यदलले कति समयावधि भित्र क्यूमा रहेका फिल्मलाई कसरी रिलिज गर्ने भन्ने बिषयलाई बैज्ञानिक ढङ्गले योजना पेश गर्ने छ जुन योजनबाट क्यूका फिल्मलाई न्याय गर्दै यो सिस्टमलाई पूर्ण रुपमा हटाईने छ ।
'तीन महिना जति लाग्ला यि सिनेमा रिलिज हुन तसर्थ यो तिन महिना भित्र क्यूमा रहेका फिल्मसंगै साईडका फिल्म पनि रिलिज हुने छ' राजकुमार राईले भने । यस्तै भोलि शुक्रबारबाट क्यू अर्न्तगतको फिल्म रिलिज नहुने भएको छ जसकारण साईडको फिल्म 'म तिम्रो भईसकें' विश्वज्योतिमा पनि रिलिज हुदैछ ।
यस्तै चलचित्र संघका महासचिव प्रदीप उदयले आजको बार्ताले स्वतन्त्र ब्यावसाय गर्ने ब्यावसायीको जित भएको बताउदै हाल सम्म रहेका क्यूका फिल्मलाई बैकल्पिक ढङ्गले रिलिज गर्न आफूहरु तत्पर रहेको बताए । क्यूबाट रिलिज हुने फिल्मको संख्या करिब ४० छ । जसलाई औषतमा ४० लाखको दरले गुणन गर्दा १६ करोड बजेट निस्कन्छ तसर्थ यो प्रणाली हटे पनि हालको मितिसम्म क्यूमा रहेका ४० निर्माताहरुको १६ करोड बचाउनु नै निर्माता संघ र चलचित्र संघको मुख्य चुनौती रहेको छ । पूर्ण रुपमा क्यू हटाउने बिषयमा आउदो आईतबार पनि बैठक डाकिएको छ ।