
सेन्सर गर्ने हल पुरानो भएका कारण मर्मत सम्भारका लागि भन्दै चलचित्र विकास बोर्डमा हुँदै आएको फिल्मको सेन्सर पुन: चलचित्र संघमा हुन थालेको छ । चलचित्र संघले आफ्नो हल नयाँ रूपमा ल्याए पछि विकास बोर्डमा केहि समयका लागि भएको फिल्मको सेन्सर अब निरन्तर रूपमा चलचित्र संघमा नै हुनेछ ।
नौ लाख खर्चेर आधुनिक हल निर्माण भएपछि अहिले सेन्सर बोर्डको हल क्यू एफएक्स कुमारी थिएटर जस्तो भएको छ । बदलिंदो परिस्थिती अनुरूप तयार गरिएको चलचित्र संघको हलमा ५.१ सराउण्ड साउण्ड सिस्टम पनि राखिएको छ । जहाँ एकै पटकमा लक्जरी सिटमा बसी ४० जनाले फिल्म हेर्न सक्ने गरी हल तयार गरिएको छ । न्यूनतम मूल्य तिरी संघको हलमा फिल्मकर्मीले आफ्नो फिल्मको सेन्सर गर्न सक्नेछन् ।
यहि सेन्सरको क्रममा रेखा फिल्मसले निर्माण गरेको फिल्म 'रावण' को संघको नयाँ हलमा सेन्सर गरियो । मंगलबार सेन्सर बोर्डका सदस्यहरूले रावण हेरेर युनिभर्सल (यू) सर्टिफिकेटको ट्याग दिए । सबैले हेर्न मिल्ने गरेर 'यू' सर्टिफिकेट पाएको 'रावण' चैत्र २७ गते मोफसलका हलमा र बैशाख १ गते राजधानीमा हलमा रिलिज हुनेछ । रेखा थापा, सबिन श्रेष्ठ र किशोर खतिवडा अभिनित २ घण्टा १५ मिनेटको यो फिल्मलाई कमलकृष्णले डेब्यू फिल्मको रूपमा निर्देशन गरेका हुन् ।
रमाईलो प्रसङग यो छ कि रेखा फिल्मसले अहिले सम्म निर्माण गरेका ६ वटै फिल्मले 'यू' सर्टिफिकेट पाएको छ । निर्माता छबि राज ओझाले फिल्मीखबरलाई जानकारी गराउँदै भने, 'मैले आम दर्शकले हेर्ने खालको फिल्म बनाउछु त्यसैले त सबै फिल्मले 'यू' सर्टिफिकेट पाउँछन् ।' रेखा फिल्म्सका अहिले सम्माका सबै फिल्म व्यवसायिक रूपमा सफल मानिएका छन् । अब हेरौं यो छैठौं प्रोजेक्टले कस्तो नतिजा निकाल्ने हो ।