
सरकारले अघि सारेको राष्ट्रिय स्वयंसेवी अभियानमा फिल्मकर्मीको पनि सहभागिता हुने भएको छ । मंगलबार दिउँसो आफ्नै कार्यालय सिंहदरबारमा फिल्मकर्मीहरूलाई डाकि प्रधानमन्त्री डा. बाबुराम भट्टराईले काठमाण्डू सरसफाई योजनामा लाग्न फिल्मकर्मीहरूलाई आग्रह गरे । सय जनाको संख्यामा उपस्थित फिल्मकर्मीलाई प्रधानमन्त्रीले भने, 'सवैलाई बाध्ने एउटै धागो राष्ट्रियताको धागो भएकाले यो योजनामा तपाईहरूको उत्साहजनक सहभागिताको अपेक्षा गरेको छु ।'
फिल्मकर्मीले प्रधानमन्त्रीको प्रस्तावलाई विभिन्न समिक्षा गर्दै सरसफाई योजनामा आफ्नो सहभागिता हुने जनाए । यध्यपी आफूहरूलाई गरिएको यो प्रस्ताव ढिला भएको भन्दै आफूरूको सहभागीता प्रयास असफल हुन सक्ने केहीले संकेत गरे । छलफलमा बोल्दै फिल्मकर्मी यादव खरेलले हतारको भेला भएको भन्दै सरकारको प्रस्तावमाथि टिप्पणी गरेका थिए । यस्तै ढिला गरी आफूहरूलाई सम्झिएको भएपनि जितु नेपालले जिरे खुर्शानीको आउदो एपिसोडमा सरसफाईको प्रसङ्ग केन्द्रित गर्ने बताए ।
अशोक शर्माले को कलाकार कुन राजनीतिक दलसंग निकट छ भन्ने कुरालाई एकछिन विर्सिएर बाग्मती र बिष्णुमती सरसफाईमा सवै फिल्मकर्मीले सहभागीता जनाए दर्शकको नजरमा आफहरूलाई हेर्ने दृष्टीकोण अझै बढ्ने बताए । त्यस्तै गायक रामकृष्ण ढकाले ढिला गरी सरकारले बाग्मती सरसफाईमा आफूहरूलाई सम्झिएपनि यो बिषय कडा कानुन ल्याउन आग्रह गरे ।
कार्यक्रममा चलचित्र संघका अध्यक्ष राजकुमार पोखरेलले दिल खोलेर बाग्मती सरसफाई अभिनयमा लाग्ने भन्दै आफ्नो तर्फबाट र प्रदर्शक नकिम उद्धिनको तर्फबाट नयाँ नेपाल निर्माण कोषका लागि १ लाख १ हजार १ सय ११ का दरले सहयोग रकम दिने घोषणा गरे । कार्यक्रममा फिल्मकर्मी उद्धव पौडेलले सरकारको बाग्मती सरसफाई योजना जायज भएपनि सरसफाईको बिषयमा फिल्मको पोस्टर टाँस्ने र टाँस्न नपाई च्यातेर फाल्दा राजधानी फोहोर भएको प्रति सराकारको ध्यानाकर्षण गराए । जवाफमा काठमाण्डू महानगरपालिकाका कार्यकारी प्रमुख केदारराज अधिकारीले अबदेखि पोस्टर भित्तामा टाँस्न नदिने र पोष्टर झुण्डाउने कुनै स्थान दिईने बताए ।
बागमती विष्णुमती स्वयंसेवी अभियानका लागि फिल्मकर्मीले चैत्र २४ गते देखि ३० गते सम्म विभिन्न स्थानमा गई सर्वसाधारणसंगै सरसफाईमा सहभागीता जनाउने छन् । यो अभियान काठमाण्डूका ३५ वडालाई विभिन्न कलष्टरमा बर्गिकरण गरी एक साता सम्म चलाईने कार्यक्रममा जानकारी दिईयो । जस अनुरूप सेलिब्रेटीको उपस्थितिमा अभियान सफल हुने भन्दै प्रधानमन्त्रीले फिल्मकर्मीलाई बोलाएका हुन् ।
छलफलमा चलचित्र विकास बोर्ड, निर्देशक समाज, निर्माता संघ, चलचित्र संघ, प्राविधिक संघ, कलाकार संघ तथा द्धन्द संघबाट प्रतिनिधित्व गर्दै फिल्मकर्मी सिंहदरबार पुगेका थिए । छलफलमा मदनदास श्रेष्ठ, मिथिला शर्मा, नवल खड्का, आकाश अधिकारी, घनश्याम खतिवडा लगायतले सरसफाई योजनामा सरकारको प्रस्तावलाई सहयोग गर्ने बताए ।