
मोफसलमा चैत्र २७ र राजधानीमा बैशाख १ गते देखि रिलिजको तयारीमा रहेको रावण प्रदर्शनका लागि तयारी भएको फिल्म निर्माण कम्पनी रेखा फिल्मसले जनाएको छ । रेखा फिल्मस स्थापना भए यताकै पहिलो पटक प्रेस मिट गर्दै रेखा फिल्मसका चेयर पर्सन छवि राज ओझाले सेन्सर बाहेकको सम्पूर्ण काम सकि निर्देशकले सिनेमा आफ्नो हातमा दिएको बताए ।
फिल्मलाई कमलकृष्ण पौडेलले डेब्यु फिल्मको रूपमा निर्देशन गरेका हुन् जसको कामको तारिफ छविले प्रेस मिटमा मुक्त कण्ठले गरे । उनले भने, '२३ बर्षे फिल्मी करिअरमा १३ वटा फिल्म बनाएँ जसमध्ये मेरो नजरमा कमलकृष्ण टप थ्री डाईरेक्टर भित्र परेका छन् ।' फिल्ममा रेखा थापा, सविन श्रेष्ठ, किशोर खतिवडा लिड रोलमा छन् । यस्तै फिल्म भित्र दीपक क्षेत्री, र मोहन निरौला छोटो तर सवैले सम्झिरहने भूमिकामा रहेको कार्यक्रममा जानकारी दिईयो ।
आफ्ना हरेक प्रोजेक्टबाट कुनै एक अनुहारलाई डेब्यू गराउने छविले यो पटक ७ अनुहारलाई रावणमा ब्रेक दिएका छन् । ब्रेक पाउनेमा कमलकृष्ण कलाकारबाट निर्देशक भएका छन् भने साईड रोल गर्ने किशोर खतिवडा मेन हिरो भएर देखिएका छन् । त्यस्तै सहायक छायाँकार भएर क्यामेरा चलाउने मदन घिमिरे कम्प्लिट सिनेमाटोग्राफर भएका छन् । फिल्ममा राकेश खालिङ्ग र मनिषा पोखरेललाई पार्श्व गायनमा छविले पहिलो पटक चान्स दिएका छन् । लेखनमा प्रकाश पुरी पनि रेखा फिल्मसबाट डेब्यू गरेका नयाँ स्क्रिप्ट राईटर हुन् । यसैगरी १२ वटा फिल्ममा निरन्तर फाईट मास्टरको रूपमा लिदै आएका राजेन्द्र खड्गीलाई यो पटक भने छविले रावणमा लिएनन् । खड्गीको स्थानमा उनको चेला चन्द्र पन्त फाईट डिरेक्टरको डेब्यू गरेका छन् ।
रेखा फिल्मसबाट विगतमा पाँच वटा सिनेमा बने । त्यस अघि नमस्ते नेपालबाट छविले अन्य सिनेमा बनाए तर रेखा फिल्मस स्थापना भए यता पहिलो पटक प्रेस मिट राख्दा रेखा निकै दङ्ग थिईन् । यति सम्मकी कार्यक्रमको एमसी नै रेखा थिईन् । 'नयाँ ट्रेण्डका सिनेमाको चर्चा भैरहेका बेला मेरो सिनेमाको विभिन्न तरिकाले समिक्षा गरिएको छ तर मलाई विश्वास छ सिनेमा अत्याधिक राम्रो बनेको जुन म अहिले भन्दैछु र तपाईहरूले फिल्म हेरेपछी मलाई यहि कुरा भन्नु हुनेछ', छविले रावणको बारेमा भने ।
निर्देशक कमलकृष्णले रावण कुनै ब्यक्ति बर्ग टार्गेटको सिनेमा नभई सवै बर्गका लागि भएको भन्दै सिनेमा राम्रो बनाएको तर्क गरे । ६५ लाखको बजेटमा निर्मित रावण डिसिएन सर्भरबाट देश भरिका ६५ वटा सिनेमा घरमा लाग्ने फाईनल भैसकेको कार्यक्रममा जानकारी दिईयो ।