
टेलिफिल्म निर्देशक एवं कलाकार शंकर आचार्यले फिल्म निर्देशन गर्ने भएका छन् । आउँदो असार महिना देखि छायाकंनमा जाने तयारीका साथ प्रि–प्रोडक्सनमा ब्यस्त आचार्यले आफ्नै लगानीमा प्रेमकथामा आधारित पारिवारिक फिल्म निर्देशन गर्न लागेका हुन् ।
शनिबारको एक भेटमा उनले भन्दै थिए- '२०५७ सालमा फिल्म बनाउछु भनेर पाँच लाख त्यतिकै सकियो तर यो पटक अवश्य बनाउने सोचका साथ लागि परेको छु ।' कमेडी सिरिएल तितो सत्यमा दिपकराज गिरीको छोरा भएर खेल्ने बालकलाकार राज आचार्यका पिता शंकरले एक दशक अघि जल शाह र दिलिप रायमाझीलाई लिड रोलमा खेलाउने भन्दै 'मायाको घर' भन्ने फिल्म निर्देशन गर्ने सम्पूर्ण तयारी गरेका थिए तर देशमा बढेको चर्को माओवादी युद्धको कारणले उनले सो फिल्म थन्क्याएका थिए ।
'स्टोरी, स्क्रिनप्ले र डाईलग समेत आफैले लेखेको छु त्यसैले फिल्म उत्कृष्ट हुनेछ भन्ने विश्वास पनि छ', शंकरले आश देखाए । समय परिवर्तन भैरहेको अवस्थामा स्टार काष्ट के होला भन्ने प्रश्नमा उनले भने, 'मेरो फिल्मको स्टोरीले नयाँ कलाकार डिमान्ड गरेको छ त्यसकारण लिड रोलमा पक्कै पनि नयाँ आर्टिष्ट हुनेछन् । अहिले कलाकारको खोजीमा व्यस्त पनि छु ।'
फिल्मको टाईटल सार्वजनिक गर्न नमानेका आचार्यले फिल्म निर्माणका लागि चलचित्र बिकास बोर्डबाट स्वीकृति समेत लिईसकेका छन् । 'सम्भवत टाईटल अझै परिवर्तन हुन सक्छ त्यसैले नाम केही दिन पछि भन्ने छु', शंकरले बताए । दृब्य शक्ति क्रिएशनबाट निर्माण हुन लागेको फिल्मको बजेट ४० र ५० लाख सम्मको हुने शंकरले बताए ।
२०३४ साल देखि काभ्रेपलाञ्चोक लोकल स्टेजबाट कलाकारिता सुरू गरेका शंकरले चार दर्जनको संख्यामा टेलिसिरिएल, दुई दर्जन फिल्म खेलेका छन् भने केही सिरिएल निर्देशन गरेका छन् । जसको अनुभवबाट फिल्म निर्देशनमा उनले हात हाल्न लागेका हुन् । उनले अभिनय गरेर रिलिज भएको पछिल्लो सिनेमा धर्मा र अरवपति हुन् भने रिलिज हुने तयारीमा बोस र तृष्णा रहेका छन् । विशेषत उनी नेगेटिभ क्यारेक्टरमा सफल कलाकार हुन् ।