
शनिबार जोशी टाकिज धनगढीमा कलाकार जयकिशन बस्नेत सहितको टोलीले दर्शकसँग बसेर शुक्रबारबाट देशभर रिलिज भएको फिल्म ‘दुलही रानी’ हेरे । यो फिल्म देशभरिका ७२ वटा सिनेमा घरबाट एक साथ रिलिज भएको छ ।
‘दर्शकसँगै सुदूरपश्चिमको धनगढीमा फिल्म हेरियो नौलो अनुभव भएको छ’, नायक बस्नेतले भने- 'नक्सा मात्रै देखेको सुदूरपश्चिममै फिल्म सुटिङ समेत गरियो ।’ सुदूरपश्चिममा सुटिङका क्रममा निकै रमाईला क्षण सम्झदै जयकिशनले भने- 'यहाँका जनता निकै सहयोगि भावनाका रहेछन् ।' सुदूरपश्चिमका मनोरम दृष्य देखेर निकै लालायीत भएको बस्नेतले बताए ।
बस्नेतले अब चाडै नै निर्माण हुने नयाँ फिल्म ‘युवराज’ र ‘जंजिर’ पनि सुदूरपश्चिममै छायाँकन गर्ने घोषणा समेत गरे । 'यहाँका दर्शकहरुको सहभागिताले मलाई थप हौसला मिलेको छ', उनले भने । सुदूरपश्चिमको कैलाली र कञ्चनपुरमा सुटिङ गरेको ‘दुलही रानी’ मा भारतको नैनीताल र दिल्लीका केही मनोरम दृष्य समेत कैद गरिएको उनले बताए ।
सामाजिक कथाबस्तु बोकेको शोभित बस्नेत निर्देशित फिल्म ‘दुलही रानी’ मा जयकिशन बस्नेत, रागिनी खड्गी, मुकेश आचार्य, पेशाल कटुवाल, जिके शर्मा, सबिना कार्की, रबिन्द्र खड्का, मौसमी मल्ल लगायतका कलाकारले अभिनय गरेका छन् । सलोन फिल्मसका लागि सलिना बस्नेतको प्रस्तुतीमा निर्माण भएको फिल्ममा मनोहर सुनामको संगीत, गणेश कुमार श्रेष्ठको छायांकन र राजेन्द्र खड्गीको द्धन्द छ । चलचित्रको पटकथा तथा संवाद मोहन निरौला र शोभित बस्नेतले लेखेका हुन् ।