चलचित्र विकाश वोर्डको आयोजामा आगामी वैशाख ८, ९ र १० गते विरेन्द्रनगर सुर्खेतमा राष्ट्रिय चलचित्र महोत्सव हुने भएको छ । मोफसलमा पहिलो पटक हुन लागेको महोत्सवलाई सफल पार्नको लागि चलचित्र बिकास वोर्डका केहि पदाधिकारी सुर्खेत आइपुगेका छन् र महोत्सवका लागि उनीहरुलाई सुर्खेतबासीले पनि सहयोग गरिरहेका छन् ।
प्राकृतिक सौन्दर्यले भरिपुर्ण साथै मध्यपश्मिान्चल विकाश क्षेत्रको क्षेत्रिय सदरमुकाम समेत रहेको सुर्खेतमा यतिवेला महोत्सवको निकै चहलपहल छ । महोत्सवको प्रचार प्रसार समिति भएता पनि सुर्खेतबासीले आफ्नै घरआँगनमा आएका कारण आयोजक सरह आफ्नो पनि जिम्मेवारी सम्झि दिल खोलेर प्रचार प्रसार साथै व्यवस्थापनमा लागेका छन् । त्यस्तै राष्ट्रिय महोत्सवलाई सुरक्षाको दृष्टिकोणले सफल पार्न सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी हरी प्याकुरेलको अध्यक्षतामा शान्ति सुरक्षा समिति गठन गरिएको छ ।
पहिलोपटक यो महोत्सव मोफसलमा गर्दै हुनुहुन्छ त्यसमा पनि पश्चिम सुर्खेतलाई नै किन रोज्नु भएको भन्ने प्रश्नमा चलचित्र बिकास बोर्डका सदस्य निलहरी काफ्लेले सुर्खेत नेपाली चलचित्रको सम्भावना भएको ठाउँका साथै मोफसलका दर्शकले नेपाली चलचित्र र कलाकारसंग घुलमिल हुन नपाएको अवस्थामा प्रत्यक्ष दर्शकसंग घुलमिल साथै सुमधुर सम्बन्ध कायम गर्ने उदेश्यले यो महोत्सव सुरु गर्न लागेको फिल्मीखबरलाई बताए । उनले मोफसलमा पहिलो पटक वृहत महोत्सव हुन लागेकोले यो एक ऐतिहासिक हुने समेत दावि गरे । आउँदा वर्षहरुमा धरान, पोखरा, धनगढी लगायतका ठाउँहरुमा गर्ने योजना समेत भएको काफ्लेले बताए ।
त्यस्तै स्थानिय प्रचार प्रसार तथा व्यवस्थापन समितिका कार्यकारी निर्देशक गोबिन्द कोईरालाले यो महोत्सवमा कलाकार, प्राबिधिक, निर्माता, निर्देशक र पत्रकार गरि एक सय बढिको उपस्थिति हुने बताए । यो महोत्सव कस्तो महोत्सव हो भन्ने प्रश्नमा कोईरालाले महोत्सव कुनै व्यापारिक दृष्टिकोण नभई नेपाली चलचित्रको समिक्षा, चलचित्रको प्रर्दशनी, चलचित्र निर्माण प्रकृयामा गहन छलफल, चलचित्र निर्माण प्रकृयामा सुर्खेतमा रहेका सुन्दर दृश्यहरुको अवलोकन हुनुको साथै चर्चित कलाकारहरुको प्रस्तुति समेत रहने फिल्मीखबरलाई जानकारी गराए ।
राष्ट्रिय चलचित्र महोत्सवको पहिलो दिन प्रधानमन्त्रीबाट उद्घाटन गराइनुका साथै स्थानिय वागिना समुहको विभिन्न सांस्कृतिक प्रस्तुति रहने, दोस्रो दिन चलचित्रको प्रर्दशनी, सिनेमा निर्माण गर्ने प्रक्रिया, कथाको दृष्टिकोणबाट वर्तमान समयमा चलचित्र निर्माण गर्दा कस्तो कथालाई छनौट गर्नुपर्छ भन्ने बारे छलफल तथा क्यामेरा, द्वन्द, सम्पादन लगायत विविध विषयको कार्यगोष्ठी र तेस्रो दिन सुर्खेतमा सुटिङ स्पटका रुपमा रहेका चर्चित स्थानहरु देउति बज्यै, वुलवुले ताल, सितापाइला, सय वर्ष पुरानो काक्रेविहार लगायतका ऐतिहासिक सम्भावित पर्यटकिय ठाउँहरु अवलोकन गर्नुका साथै ति स्थानहरूका बारेमा छलफल गरिने छ ।
महोत्सवलाई सफल पार्न मूल समारोह समिती, ६ सदस्यिय सल्लाहकार समिती, प्रचार-प्रसार उप-समिती, शान्ति, सुरक्षा उप-समितीआर्थिक उप-समिती, अतिथी सत्कार तथा व्यबस्थापन उप-समिती, साँस्कृतिक उप-समिती, सरसफाई उप-समिती, मञ्च ब्याबस्थापन तथा प्राविधिक उप-समिती, आवास तथा खाना व्याबस्थापन उप-समिती, स्वयंसेवक उप-समिती र झाँकी व्याबस्थापन उप-समिती गठन गरिएको छ ।

