
सिक्किममा हुन लागेको फिल्म मृगतृष्णाको प्रिमियरका लागी युनिट आज त्यसतर्फ प्रस्थान गरेको छ । सिक्किमको बज्र हलमा भोली हुने प्रिमियरका लागि निर्देशक तुलसी घिमिरेको साथमा कलाकार कर्म, नन्दिता केसी, हेमन्त बुढाथोकी, निर्माता तथा बितरक मनोज राठी सहितको एक जम्बो टोली आज भद्रपुर हुँदै सिक्किम पुगेको हो ।
सिक्किम प्रान्तका मुख्य मन्त्री डा. पवन चाम्लिङको प्रमुख आतिथ्यमा फिल्मको प्रिमियर तथा च्यारिटी शो गरिने निर्माता मनोज राठीले फिल्मीखबरलाई जानकारी गराए । करिब एक हजार सिट क्षमता भएको बज्र हलको सबै टिकट बुकिङ पनि भईसकेको राठीले जानकारी दिए । युनिट भोली बिहिबार हुने प्रिमियरमा सहभागी भएर पर्सि शुक्रबार नेपाल फर्कने छ र बैशाख १ गते नेपालमा हुने रिलिजको पब्लिसिटीमा जुट्नेछ ।
साई गायत्री फिल्म्सको व्यानरमा निर्माण भएको 'मृगतृष्णा' मा बिराज भट्ट, कर्म, नन्दिता केसी, भारती घिमिरे, ध्रुब दत्त, हेमन्त बुढाथोकी, उमेश मायालु, रामचन्द्र अधिकारी लगायतका कलाकारले अभिनय गरेका छन् । शम्भुजित बाँस्कोटाको संगीत रहेको उक्त फिल्ममा शिब ढकालको छायाँकन, दिनेश अधिकारी र कमल राईको नृत्यनिर्देशन, रोशन श्रेष्ठको द्धन्दनिर्देशन तथा भारती घिमिरे र अनन्त घिमिरेको सम्पादन रहेको छ । फिल्म शिक्षित बेरोजगार युवाहरूको कथामा आधारित छ ।