
देशभरकै हलमा उत्साहजनक कलेक्सन गर्दै हाइट लिईरहेको चलचित्र चपली हाइटले धरानमा समेत आक्रामक ओपनिंग गरेको छ । गत साता अर्थात चैत्र ३ बाट रिलिज भएको सो चलचित्र धरानमा भने चैत्र १० बाट प्रदर्शनमा आएको हो । प्रदर्शनमा आएको अन्य स्थानमा दोस्रो सातामा प्रवेश गरेको सो चलचित्र धराने दर्शकको लागि समेत प्रतिक्षित बनेको थियो ।
चलचित्रको कन्टेन्ट र प्रस्तुतिकरणले गर्दा दर्शकको मन जितिरहेको चपली हाइट धरानको गणेश टाकिज मार्फत प्रदर्शनमा आएको हो । गत शुक्रबार देखिनै धरानका दुवै हलमा पुगी चपली हाइट कहिले लाग्छ भनि दर्शकले जिज्ञासा राखिरहेका थिए । चलचित्रले धरानमा समेत उत्साहजनक कलेक्सन गर्दै शनिबार हल संचालन भए देखिकै सर्वाधिक कलेक्सन गर्दै रेकर्ड राख्न सफल भएको छ ।
चपली हाइटले शनिबार जम्मा चार शो गरेर धरानको सो हलमा १ लाख १० हजार माथिको ग्रस कलेक्सन गरेको हो । नाइट शोको रुपमा हिन्दि चलचित्र एजेन्ट बिनोद प्रदर्शन गरिए पनि दर्शकले चपली हाइटकै डिमाण्ड गरेपछि शुक्रबारबाटै नाइट शोमा समेत चपली हाइट प्रदर्शन गरिएको छ । नेपाली चलचित्रको नाइट शो बिरलै हुने सो हलमा चपली हाइट हेर्न दर्शकको भिड लागेको छ । हिजो शनिबार चलचित्रको सम्पूर्ण शोहरु हाउसफुल भएका थिए । ब्ल्याकमा टिकट काटेर चलचित्र हेर्ने दर्शकको संख्या समेत ज्यादा देखिन्थ्यो । यस्तै चलचित्र लागेको पहिलो दिनमा समेत ८० हजार माथि कलेक्सन भएको जानकारी हलले दिएको छ ।
चलचित्रले आफ्नो हलमा सोचे अनुरुपकै कलेक्सन गरेको म्यानेजर भोलामान श्रेष्ठले बताए । धरानकै अर्को हलमा हिन्दि चलचित्र एजेन्ट बिनोद प्रदर्शनमा आए पनि सो चलचित्र भन्दा चपली हाइटको व्यापार निकै माथि रहेको छ । यसैगरी चलचित्र हेर्न धरानका चर्चित प्राध्यापक, समाजसेवी, उद्योगी लगायतको उपस्थिति हलमा देखिएको थियो । नेपाली चलचित्र नहेरेको धेरै बताउदै महेन्द्र बहुमुखी क्याम्पस धरानका प्राध्यापक एवं बुद्धिजिबी राजेन्द्र शर्मा, अर्का प्राध्यापक ऋषिराज गौतम लगायतले चपली हाइट हेरेका थिए ।
एडल्ट चलचित्रको रुपमा सर्टिफिकेट पाएको सो चलचित्र हेर्न पुरुष भन्दा महिला दर्शकको संख्या ज्यादा देखिन्थ्यो । चलचित्र हेरिसके पछि धराने दर्शकले चलचित्र मनपरेको प्रतिक्रिया दिए । नायिका बिनिता बरालको अभिनयलाइ दर्शकले रुचाएका छन् । आफ्नै ठाउँक गायक सबिन राईलाइ सुरुमै केमियो भूमिकामा देख्दा हलमा दर्शकले ठुलो आवाजमा हुटिंग गरेका थिए । चलचित्र पूर्वको दमक, बिराटनगर, झुम्का, उर्लाबारी लगायतका स्थानमा दोस्रो सातामा प्रदर्शन भैरहेको छ भने बिर्तामोडको कृष्ण टाकिजमा प्रदर्शनको क्रममा रहेको छ । पुर्वान्चलका सम्पूर्ण हलमा चलचित्रले राम्रो व्यापार गरेको पुर्वान्चल वितरक संजु पराजुलीले बताए ।