
पछिल्लो समय सिनेमाको पर्दामा विशेष भूमिकामा समेत छाउन पछि नपर्ने राजेश हमाल अब टेलिभिजनको पर्दाबाट प्रसारण हुने हास्य धाराबाहिक तीतो सत्यमा पनि अतिथि भूमिकामा देखिने भएका छन् ।
यस अघि मेरी बास्सैमा पनि अभिनय गरिसकेका हमालले बैशाख महिना भित्र तीतो सत्य मार्फत दर्शकलाई नयाँ टेष्ट दिदैछन् । तीतो सत्यका निर्देशक दिपकराज गिरीका अनुसार दुई हप्ते यूके भ्रमणका क्रममा महानायकसंग स्टोरी जोडेर तीतो सत्यको कथामा नयाँ टेष्ट भर्न लागिएको हो ।
यो बिषयमा न्यूज बाहिरिएपछी दिपकले भने, 'काम गर्नुभन्दा अघि थाहा पाउनु भएछ अब अलिकति सुन्नुस् ! पशुपतिको जात्रा सिद्राको ब्यापार भनेझै हामी कार्यक्रममको सिलसिलामा यूके जाने भएकाले सो समयमा बिदेशमा पलायन भएका कलाकारहरुको प्रसङ्गलाई जोडेर स्क्रिप्ट तयार गरेका छौ जुन तीन एपिसोड सम्म प्रसारण गर्ने लक्ष्य छ ।' हमालसंग तीतो सत्य टोली आउदौ २८ दुई साताका लागि यूके प्रस्थान गर्दैछ । जहाँ राजेश हमाललाई ट्रान्जिट पोईन्ट बनाएर नेपाली कलाकारको विदेश पलायन स्टोरी खिचिने दिपकले जानकारी गराए ।
पब्लिीसिटीको नयाँ योजना अनुरुप पछिल्लो समय सिनेमाका स्टारहरु टेलिभिजनको पर्दाबाट थप चर्चित हुन खोजिरहेका छन् । पहिलो पटक भूवन केसीलाई तीतो सत्यमा उतारेका दिपकले पछिल्लो समय केकी अधिकारी, राजबल्लभ कोईरालालाई पनि आफ्नो श्रृङखलामा अटाएका छन् । जस मध्ये स्पेशल भूमिकामा खेलेका बल्लभको एपिसोड अन एयर हुन बाँकी छ ।
नेपाली सिनेमामा सक्रिय भैरहेको अवस्थाबाट विदेश पलायन भएका दर्जनौ कलाकार छन् । के कारणले उनीहरु विदेश बस्न बाध्य भए र कस्तो अवस्थामा छन् भन्ने बिषयलाई राजेश हमाल खेल्ने स्क्रिप्टमा बाध्ने प्रयास तीतो सत्यमा दिपकले गर्दैछन् जुन निकै हेर्न लायक हुनेमा उनी विश्वास ब्यक्त गर्छन् ।