
नेवारी भाषामा पटचारा जस्तो सफल चलचित्र बनाएको गुण फिल्म्सले पुन: अर्को नेवारी भाषामा चलचित्र बनाउँदैछ । बौद्ध धर्मग्रन्थमै आधारित रहेर निर्माण गर्न लागिएको चलचित्रको नाम 'कृषा गौतमी' राखिएको छ ।
बिहिबार ललितपुरको अक्षयश्वर महाविहारमा आयोजना गरिएको मुहुर्त कार्यक्रममा गुण फिल्म्सले 'कृषा गौतमी' को निर्माण घोषणा गरेको हो । गुण फिल्म्सले 'कृषा गौतमी' मा पटचाराका मुख्य कलाकार मेलिना मानन्धर, कर्म र लक्ष्मी गिरीलाई दोहोर्याउने भएको छ भने शिब श्रेष्ठको पनि मुख्य अभिनय रहने भएको छ । चलचित्रलाई रामकृष्ण खड्गीले निर्देशन गर्ने भएका छन् ।
मुहुर्त कार्यक्रममा बोल्दै गुण फिल्म्सका सञ्चालक तथा 'कृषा गौतमी' का निर्माता दिजेन्द्र शाक्यले चलचित्रको प्रदर्शनबाट उठ्ने रकमलाई समाजसेवाका लागि खर्च गर्ने बताए । उनले भने, 'यसबाट उठ्ने रकम विभिन्न मठमन्दिर, विहार तथा स्कुल निर्माणको साथमा मोतियाबिन्दुका बिरामीको उपचारका लागि खर्च गर्नेछु ।' चलचित्रको सुटिङ आज शुक्रबारबाट गरिंदैछ । चलचित्रलाई नेपाली भाषामा पनि डबिङ गरिने बताईएको छ ।