
पोखरेली निर्देशक जीवन रसाईलीद्वारा निर्देशित नेपाली कथानक चलचित्र ‘माई लाईफ’ आज शुक्रबारदेखि देशब्यापी रुपमा प्रदर्शनमा आएको छ । देशभरका ४५ चलचित्र भवनमा एकसाथ चल्ने चलचित्र 'माई लाईफ' पोखराको बिन्ध्वाबासिनी चलचित्र मन्दिरमा प्रर्दशनमा आएको छ । पोखरेली कलाकार र निर्देशकको चलचित्र भएकोले निर्माण पक्षले पोखरामा चलचित्रले राम्रो व्यापार गर्ने आशा लिएको छ ।
चलचित्र सफलताको लागी निर्देशक जीवन रसाईली र नायक मिलन शंकरले विहिबार बिन्ध्वाबासिनी मन्दिरमा गएर पुजापाठ समेत गरे । पुजापाठमा उल्लेख्य मात्रामा आफन्त र शुभचिन्तकहरुको समेत सहभागिता थियो । पुजापाठ पश्चात पोखरेली निर्देशक र नायकको आफन्त, शुभचिन्तकहरुले चलचित्रको प्रचारप्रसार स्वरुप नगरमा बृहत मोटरसाईकल र्याली समेत निकाले ।
६० वटा मोटरसाईकलमा र्याली गर्दै हिँडेका शुभचिन्तकहरुले बिन्ध्वाबासिनी मन्दिर हुँदै लेकसाईड, विरौटा, एयरपोर्ट, पृथ्वीचोक, रामबजार, अमरसिँह चोक, रानीपौवा, महेन्द्रपुल हुँदै बिन्ध्वाबासिनी हलमा पुगेर र्याली टुंगाएका थिए । र्यालीको संयोजन स्वर्णकार कल्याण समिति कास्कीको तर्फबाट महासचिव राजकुमार घिमिरेले गरेका थिए ।
४० लाख रुपैँया लागतमा निर्माण पुरा भएको चलचित्र विश्वास घलेले निर्माण गरेका हुन् । पछिल्लो समय नेपाली चलचित्रहरुले राम्रो व्यापार गरेका कारण यो चलचित्रले पनि त्यसलाई निरन्तरता दिने निर्देशक रसाईलीले बताए । चलचित्र ‘माई लाईफ’ मा पोखरेली नायक मिलन शंकरको अलावा सुरज आरडी, झरना थापा, अयुब केसी, एशराज, स्नेहा शर्मा लगायतको अभिनय रहेको छ ।