
पक्कै पनि एउटा टिचरको लक्ष्य भनेको प्रिन्सिपल बन्नु हो । त्यस्तै एउटा जर्नलिष्टको अन्तिम ईच्छा भनेको एडिटर बन्नु हो र एउटा कलाकारको लक्ष्य भनेको प्रोड्यूसर वा डिरेक्टर बन्नु हो । जुन भनाई अभिनेता बिराज भट्टको हकमा पनि लागू हुन्छ ।
एक बर्षयता नेपाली सिनेमाबाट केही पलायन भएका बिराज हाल भोजपुरी सिने उद्योगमा ब्यस्त छन् । जहाँ उनी नेपालको सुपरस्टारले परिचित छन् । कुनै समय विराजका सिनेमाले जसरी नेपाली प्रोडयूसरको गोजी मज्जाले भरिन्थ्यो त्यसैगरी उनी अभिनित भोजपुरी सिनेमा एक पछी अर्को गरि हिट भैदिदा अहिले उनी भोजपुरी मार्केटका विकाऊ कलाकारले परिचित छन् ।
हाल नेपाल आएका विराजलाई सिनेजर्नलिष्ट दिनेश सिटौलाले सोधेका थिए, 'अब तपाईको ईच्छा के छ ?' जवाफमा विराजले एउटा सिनेमा बनाउने उदेश्य छ भन्दै उक्त सिनेमा दर्शकका लागि उपहार स्वरूप हुने बताए । भट्टले जीवनमा धेरै सिनेमा बनाउन नसके पनि एउटा निर्माण गर्ने बताए पछी सिनेमा निर्माण र निर्देशनमा अब नेपाली कलाकार पनि अग्रसर हुन थालेको प्रष्टिन्छ ।
जसरी राजेश हमाल तथा भुवन केसीले सिनेमा निर्देशन गर्ने चासो देखाएका छन् । सोही अनुरूप केही हिरोईनहरू पनि सिनेमा निर्माणमा अग्रसर भैरहेका छन् तसर्थ विराज भट्टले पनि आफूले सिनेमा बनाउने उत्तर दिनु प्रशंसनीय हो र सो भनाईबाट बुझ्न सकिन्छ विराजको गोजी आजकाल राम्रैसंग तातिएको पनि छ ।
एक बर्षको पूर्ण ग्याप हुँदा पनि विराज अभिनित एक दर्जन सिनेमा अझै रिलिजको लिष्टमा छन् । जस मध्ये तुलसी घिमिरेको निर्देशनमा बनेको मृगतृष्णाको प्रचार गर्न उनी कहि पछि पर्दैनन् । तर मिडियाले प्रश्न गरिहाल्यो भन्दैमा फ्याट्ट उत्तर दिएका विराजले फिल्म निर्माण गर्छु भनी बोलेको बाचा पुर्याउँछन् वा पुर्याउँदैनन् त्यसका लागि भने केही बर्ष पर्खनै पर्ने हुन्छ ।
आशा गरौं भट्ट सरले चाडै नै बोलेका कुरालाई यथार्थमा परिणत गर्नुहुनेछ । यस अघि अभिनेता भुवन केसी, श्रीकृष्ण श्रेष्ठ, निखिल उप्रेती, रेश मरहठ्ठाले प्रोड्यूसरको ट्याग भिरिसकेका छन् ।