
पछिल्लो समय युवापुस्ताले नेपाली चलचित्र प्रति देखाएको चासोले गर्दा नेपाली चलचित्रकर्मीहरूमा एउटा उत्साह आएको छ कि अब नेपाली चलचित्रको भविश्य राम्रो हुनेछ । नेपाली चलचित्र हेर्दा नाक खुम्च्याउने युवाहरू अहिले नेपाली चलचित्र प्रति आकर्षित हुनुको मुख्य कारण नै उनीहरूको चाहनालाई बुझेर निर्माण गरिएका चलचित्र नै हुन् ।
नेपाली चलचित्र प्रति बिस्तारै आकर्षित हुँदै गएका तिनै युवाहरू लक्षित चलचित्र 'सायद' प्रदर्शनको अन्तिम तयारीमा छ । बैशाख २९ गते नेपाल सहित अष्ट्रेलियामा एकसाथ रिलिजको तयारीमा रहेको सो चलचित्रको प्रोमोसँगै पोस्टर अफिसियल रूपमा रिलिज गरिएको छ । रिलिज प्रोमोले अहिलेको युवाहरूलाई प्रतिनिधित्व गरेको प्रस्टिन्छ । लागुऔषधको बिषयलाई मुख्य कथा बनाएको सो चलचित्रमा यस्ता युवापात्रहरू छन् जसले अहिलेको जेनेरेशनको प्रतिनिधित्व गर्दै समाजलाई सन्देश दिने कोशिस गरेका छन् ।
ड्रग्स, सेक्स सहित अहिलेको नेपाली समाजको यथार्थतालाई चित्रण गरिएको सायदलाई सुरज सुब्बा नाल्बोले निर्देशन गरेका हुन् । सुनिल रावल, झरना थापा, संयम पुरी, विल्सनविक्रम राई, अनिता दाहाल लगायतले अभिनय गरेको सो चलचित्रमा करिश्मा मानन्धर तथा बाबु बोगटीले अतिथि कलाकारको भूमिका निर्वाह गरेका छन् ।
दुर्गिस फिल्मको व्यानरमा निर्माण गरिएको चलचित्र सायदमा स्याडोज व्याण्डले संगीत दिएका छन् भने संजय लामाले चलचित्रलाई खिचेका हुन् । चलचित्रको कथा निर्देशक सुब्बाले नै लेखेका हुन् । चलचित्रको स्लोगन 'मे बि योर स्टोरी' राखिएको छ । यानकी चलचित्रको कथा जो कोहीको जीवनसँग मे खान सक्छ ।