
नेपाली चलचित्र हेर्ने दर्शकले नयाँ स्वाद खोजेको लूट देखि चपली हाईट सम्म रिलिज भएका सिनेमाले प्रस्ट्याएको छ । खासगरी भन्नु पर्दा छाडा शब्दको प्रयोग र नाङ्गिएका सिनले दर्शकलाई हलसम्म तान्ने 'लूट' र 'चपली हाईट' ले देखाए । जसरी लूटले एक किसिमको आश जगाएको थियो त्यो भन्दा बढि चपली हाईटले देखाएको छ ।
शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र 'चपली हाईट' हेर्न बिशेष गरी युवावर्गको भिड देखियो । लूट हेर्न महिला दर्शक शुरूमा कम देखिएको थियो तर चपली हाईट हेर्न भने महिला दर्शक बढि देखिएको छ । चलचित्रमा प्रयोग गरिएका डाईलग र सिन हेरेर जति पुरूष दर्शक हाँस्थे त्यो भन्दा बढि महिला दर्शक हाँसेको पाईयो । चलचित्र सेक्स साईकोलोजीमा बनेकाले पनि युवाहरूको भिड देखिएको हो । यहि भिड भोलीका दिनमा पनि बढ्दै जाने हो भने नेपाली चलचित्रले नयाँ धारमा ठूलै फड्को मार्ने देखिन्छ ।
आक्रमक ओपनिङ गरेको चपली हाईटले शनिबार शुक्रबारको दुई गुणा बढि कलेक्सन गर्यो । देशभरका करिब तीन दर्जन सिनेमा घरमा रिलिज भएको सो चलचित्रको कलेक्सन देखेर अहिले सारा उधोग हर्षित भएको छ । केहि महिना अगाडी सिनेमा घर हाउस फुल भएको देख्न मुस्किल परेको थियो तर आज भने देशभरका सिनेमा घर हाउसफूल रहे । राजधानीमा भन्दा राजधानी बाहिर दर्शकहरूको चाप बढि रहेको बितरक तथा हल सञ्चालकहरू बताउँछन् । लूट र चपली हाईटको कलेक्सन हेर्दा अबको नेपाली चलचित्रले लिने मोड डर लाग्दो हुने समिक्षकहरूको अनुमान छ ।
हिन्दी सिनेमाले मात खुवाएको नेपाली सिनेमा बजारलाई अहिले नेपाली सिनेमाले नै मात खुवाएका छन् । हिन्दी र अंग्रेजी सिनेमाले राजधानीमा मुख्य मल्टिप्लेक्स हल दर्शकहरूले खचाखच हुन्थे तर अहिले बिदेशी सिनेमालाई नेपाली सिनेमाले रिप्लेस गरेर मल्टिप्लेक्स हलहरूका सबै शोहरू हाउसफूल भएका छन् । राजधानीमा सञ्चालित बिग सिनेमाले चपली हाईटलाई ९ शो दिएको छ भने क्यूएफएक्सले ११ शो दिएको छ जुन चलचित्रकर्मीका लागि पनि गौरवको कुरा हो ।
पोखरामा नयाँ इतिहास
सन्जोग बस्याल, पोखरा
हिजो शुक्रबारबाट काठमाण्डौ उपत्यका लगायत देशका विभिन्न सहरमा प्रदर्शनमा आएको चलचित्र चपली हाईटले पोखरामा नयाँ ईतिहास कायम गरेको छ । पोखराको सिने प्लाजा भित्र रहेको श्रीकृष्ण चलचित्र भवनमा प्रदर्शन भएको चलचित्रले एकै दिनमा अहिले सम्मकै सर्वाधिक ३ लाख २० हजार ग्रस कलेक्सन गरेको हलका संचालक उत्तम द्धाले जानकारी गराए ।
'यो भन्दा अगाडि लगभग वाह्र बर्ष अगाडि 'तँ त साह्रै बिग्रिस नि बद्रि' ले एकै दिनमा २ लाख ५० हजार ग्रस कलेक्सनको रेकर्ड राखेको थियो', द्धाले भने, 'त्यस पछि कुनै पनि चलचित्रले त्यो रकर्ड ब्रेक गर्न सकेका थिएनन् आज चपली हाईटले नसोचेको विजनेस गर्यो ।' द्धाले खुसी हुँदै भने, 'बिगतका केही वर्ष चलचित्रहरु नचलि रहेको बेला सबैले अब नेपालमा चलचित्र बन्न नै छोड्छ भन्ने भनाईहरू आईरहँदा अब यो हललाई के बनाउने होला भन्ने चिन्ता लागेको थियो तर आज चपली हाईटको यो व्यापार देख्दा बाह्र वर्षमा खोला पनि फर्किन्छ भनेको जस्तो भयो ।'
आज शनिबार बिहानी सो एउटा हलमा मात्रै लागेको चपली हाईट दिउसोको शोमा एउटै हलले दर्शक थाम्न नसके पछि लुट लागी रहेको अर्को हल बाराही ‘ख’ मा लुटलाई रिप्लेस गरी चपली हाईट नै लगाईएको थियो भने दर्शकको आग्रहमा धेरै वर्ष पछि आज नाईट शो पनि देखाईएको छ ।
पूर्वमा उत्साहजनक ओपनिङ
अर्पण ढकाल, धरान
चलचित्र चपली हाइटले पूर्वका हलहरुमा समेत उत्साहजनक ओपनिङ गर्न सफल भएको छ । चलचित्रको पुर्वान्चल वितरण हेरिरहेका सन्जु पराजुलीले दिएको जानकारी अनुसार चलचित्रले पूर्वका हलहरुमा शुक्रबार ८० % र शनिबार १०० % अकुपेन्सि कायम गरेको छ । चलचित्र पूर्वको निलकण्ठ चलचित्र मन्दिर दमक, भिलेज सिनेमा उर्लाबारी, सुकुना चलचित्र मन्दिर बिराटचोक, किरण चित्र मन्दिर झुम्का र भुषण टाकिज बासबरी मार्फत प्रदर्शनमा आएको छ ।
मल्टीप्लेक्स दर्शक मात्रै तान्ने अनुमान रिलिज पुर्व गरिए पनि पूर्वका सिंगल थिएटर र ग्रामिण भेगका हलमा समेत चलचित्रले राम्रो कलेसन गरेको वितरक पराजुलीले बताए । चलचित हेरेर निस्किएका पूर्वेली दर्शकले समेत चलचित्र रुचाएको पाईएको छ । माउथ पब्लिसिटीले भोलिबाट चलचित्रको व्यापार अझ बढ्ने अनुमान समेत गरिएको छ । अर्को चलचित्रको होल्डओवर नघटेकोले धरान र बिर्तामोड जस्तो मेजर स्टेसनमा चलचित्र रिलिज हुन पाएन । धरानको शिव सिनेमा, बिर्तामोडको कृष्ण टाकिज, बिराटनगरको हिमालयन टाकिज लगायतका हलमा आउदो शुक्रबार चलचित्र रिलिज हुने छ ।
‘चपली हाईट’ हेर्न युवाको घुइँचो
कृष्ण न्यौपाने, दमौली
नेपाली चलचित्र ‘चपली हाईट’ हेर्न शनिबार दमौलीको उत्तरशीला चलचित्र मन्दिरमा दर्शकको उल्लेख्य घुइँचो लागेको छ । ‘चपली हाईट’ हेर्न शनिबारको शोमा युवायुवतीको घुइँचो लागेको उत्तरशीला चलचित्र मन्दिरका व्यवस्थापक प्रमोद पाण्डेले बताए । शनिबारको बिहान शोमा मात्रै करिब ९ सय युवाहरुले चलचित्र हेरेको उनले बताए । ‘शुक्रबार र शनिबार नै हाउसफुल रह्यो,’ उनले भने, ‘सिट नपाएर भुइँमै बसेर समेत चलचित्र हेरे ।’
अर्जुन कुमारको निर्माण र दिपेन्द्र के. खनालको निर्देशन रहेको यो चलचित्र सेक्सुअल साईको क्राईम कथामा आधारित छ । चलचित्रलाई चलचित्र विकास बोर्डले केही दिन अघि मात्र एडल्ट सर्टिफिकेट दिएको थियो । तीन पात्रको रोमान्स, फेन्टासी, सेक्स मनोविज्ञान र मानवीय सम्बन्धको उतार चढावको द्वन्द्व नै चलचित्रको मूल कथा हो । त्यसमा नायिका दुवै साथीको प्रेमिका हुन्छिन् र दुवैलाई पालोपालो सेक्समा साथ दिन्छिन् । एडल्ट सर्टिफिकेट अर्थात वयष्कहरुले मात्र हेर्न पाउने अनुमति पाएको चलचित्रमा विनिता बराल, आमिर गौतम र राज घिमिरेको अभिनय रहेको छ ।