
अभिनेता दीलिप रायमाझीले निर्माण गरेको सिनेमा मिस यूले आफ्नो लगानी उठाएको छ । गत फागुन पाँच गतेदेखि रिलिज भएको ७० लाख बजेटको उक्त सिनेमाले एक महिने स्वदेश रिलिजबाट ९९ .५ लाख ग्रस कलेक्सन गर्यो भने कतारको शोबाट नेट २ लाख हात पारिसकेको छ । सिनेमाले राजधानीबाट ५१ लाख र मोफसलबाट ४८.५ लाख कलेक्सन गरेको रिपोर्ट छ ।
यस्तै ३० मार्चबाट अष्ट्रेलियामा हुने १५ शो बापतको नेट ७ लाख मिस युको पोल्टोमा परिसकेको छ भने यूरोपका चार देशमा हुन लागेको विभिन्न शो बापतको ७ लाख, थाईल्याण्डबाट ४ लाख र मलेसियाबाट २ लाख आफ्नो हातमा परिसकेको निर्देशक सुरेश दर्पण पोखरेलले जानकारी गराए । तसर्थ ओभरसिज मार्केटबाट मिस यूले आफ्नो पोल्टोमा २२ लाख नेट कलेक्सन गरेको छ । जसलाई ९९ लाखको स्वेदेश ग्रससंग जोडेर हेर्दा १ करोड २१.५ लाख हुन आउछ ।
यस्तै पोखरेलका अनुसार अमेरिकाका विभिन्न स्टेटमा हुन लागेको मिसयूको ४० शोबाट उठ्ने रकमको फिप्टी–फिप्टी शेयर बाँडफाँड गर्ने सहमति भएकाले उक्त शोबाट न्यूनतम १५ लाख आफ्नो भागमा आउने उनले पूर्व अनुमान गरे । हाल मोफसलमा रिलिज भैरहेको उक्त सिनेमा अझै ३५ स्टेशनमा लाग्न बाँकी छ । जसमध्ये नेपाली सिनेमाको राम्रो मार्केट रहेको पूर्वाञ्चलको विर्तामोर्ड एरियामा आगामी सातादेखि मिस यू लाग्ने छ भने बनेपामा पनि आउने सातादेखि लाग्ने करिब पक्का छ । यस्तै बिजनेसकै हिसाव गर्दा मिस यूले ८ लाखमा आफ्नो डिभीडी राईटस बेच्ने तयारी पनि गरेको छ ।
पछिल्लो समय नयाँ शैलीमा सिनेमा निर्माण भएको प्रसङ्गमा दर्शकले फिल्मलाई रूचाईरहेका छन् त्यसमध्ये लुटले नेपाली दर्शकलाई पुनः फिल्म हलसम्म तान्ने प्रयास गरेपछि सिनेमा बिजनेस सुध्रिएको संकेत देखा परेको हो । जसको प्रभाव लुट पछि रिलिज भएका काठमाण्डू, आई एम सरी हुदै मिस यू र अहिले आएर चपली हाईट सम्मको संकेत राम्रो देखिएको हो ।