
चलचित्र बिकास बोर्डले सार्वजनिक गरेको दश बुँदे कार्ययोजनाको केही बुँदामा असन्तुष्ट जनाउदै आन्दोलन घोषणा गरेको चलचित्र संघसँग बोर्डले आज निर्णायक बार्ता गर्दैछ ।
चाबहिल स्थित चलचित्र बिकास बोर्डको भवनमा बिहान साढे एघार बजेदेखि सुरु बार्तामा चलचित्र संघका तर्फबाट अध्यक्ष राजकुमार पोखरेल र महासचिव प्रदिप उदय सहभागी भएका छन् भने बोर्डको तर्फबाट अध्यक्ष गणेश भण्डारी सहित नव नियूक्त तिन सदस्य बार्तामा सहभागी भएर असन्तुष्टीका बुँदामा छलफल गर्दै ठोस निर्णय गर्नेछन् । 'चलचित्र संघसँग आज निर्णायक बार्ता हो त्यसैले दश बुँदे कार्ययोजनालाई सवैको सहमतिमा अगाडी बढाउदै निर्णयलाई तुरुन्त कार्यान्वयन गर्नेछौ', बोर्ड सदस्य निलहरी काफ्लेले जानकारी गराए ।
केही संघसंस्थाले बिहानी शो खारेज बुँदा अबैज्ञानिक भएको भन्दै सो बुँदा परिमार्जित गर्न बोर्डलाई तीन दिन अघिको छलफलमा सुझाव दिएका थिए जस अनुरुप चलचित्र संघले पनि सो बुँदामा असन्तुष्ट जनाएको छ । संघका महासचिव प्रदीप उदयका अनुसार बिहानी शो खारेज र बक्स अफिस स्थापनामा संघको असन्तुष्टी छ । उदयले भने, 'बक्स अफिस स्थापनामा हाम्रो आपत्ती हैन तर सो अफिसलाई बोर्डले हैन अर्कै निकायले संचालन गर्नुपर्छ ।'
बक्स अफिस स्थापनाको बिषयमा स्वयम निर्माता संघले बोर्डको निर्णय स्वागत योग्य भनिसकेको अवस्थामा बक्स अफिसमा विवाद लम्बिने प्रवल सम्भावना छ । किनकी बक्स अफिसको बिषयमा बोर्डले कुनै पनि नयाँ सम्झौता नगर्ने उदघोष गरिसकेको छ । यध्यपी चलचित्र संघलाई कसरी मनाएर बोर्ड अघि बढ्ने हो अपडेट गर्दै जानेछौ ।