
चैत्र १७ बाट देशभर एक साथ प्रदर्शनमा आउन लागेको चलचित्र 'दुलही रानी' को इलाममा च्यारिटी सो सम्पन्न भएको छ । इलामको शान्तिपुर गाबिसमा रहेको शान्तिपुर उच्च माबिको खुल्ला प्रांगणमा चलचित्रको प्रदर्शनी गरिएको थियो । चलचित्रको च्यारिटी सोको लागि निर्देशक शोभित बस्नेत, कलाकार जयकिशन बस्नेत र जीके शर्मा सहितको टोलि पुर्व आएको छ ।
इलामको शान्तिपुरका स्थानीय नेपाली चलचित्र प्रेमी दर्शकको आग्रह र माग बमोजिम आफु चलचित्र लिएर आएको निर्देशक बस्नेतले बताए । कुनै पनि सिनेमा हल नभएको सो स्थानमा चलचित्र बिध्यालयको प्रांगणमा प्रदर्शन गरिएको हो । एक सोको लागि मात्र चलचित्र प्रदर्शन गर्ने कुरा भए पनि दर्शकको भिड थामिनसक्नु भएपछि तीन दिनमा जम्मा ७ सो प्रदर्शन भएको थियो । सोमबार दुई, मंगलबार चार र बुधबार एक गरि जम्मा सात सो देखाईएको हो । प्रत्येक सोमा करिब २५० देखि ३०० दर्शकको सहभागिता रहेको थियो । करिब २००० इलामेली दर्शकले चलचित्र हेरेको निर्देशक बस्नेतले बताए । यो प्रदर्शनीबाट करिब २ लाख कलेक्सन भएको उनले जानकारी गराए ।
चलचित्र हेरिसकेपछि दर्शकको सकारात्मक प्रतिक्रिया पाएपछि त्यहा पुगेको टोलि नै उत्साहित बनेको थियो । यो प्रदर्शनी पछि चलचित्रले सफलता पाउनेमा ढुक्क भएको निर्देशक बस्नेतले बताए । आफ्नो अभिनयलाइ पनि दर्शकले रुचाएपछि कलाकार जय किशन बस्नेत र जीके शर्मा समेत हर्षित देखिन्थे । च्यारिटी सो पछि पुर्वान्चलमा प्रोमोशन गरेर मात्र टोलि काठमाडौँ फर्कने भएको छ । जसअनुरुप बिर्तामोडमा भैरहेको पुर्वान्चल महोत्सवमा पुगेर टोलीले चलचित्र बारे जानकारी दिन भ्याएको छ । बिर्तामोड, दमक र धरानका संचारमाध्यम र संचारकर्मीलाइ चलचित्र बारे जानकारी दिने कार्यक्रम समेत यो टोलीले राखेको छ । पूर्वमा चलचित्रको प्रोमोसन गरेर पश्चिम लाग्ने शोभितले बताए ।
कमेडी र एक्सन धारमा निर्माण भएको चलचित्रमा रागिनी खड्की दुलही रानीको रुपमा प्रस्तुत भएकी छिन् । चलचित्रमा मुकेश आचार्य, सबिना कार्की, पेशाला कटुवाल लगायतको समेत अभिनय रहेको छ । भारतको नैनीताल, दिल्ली गेट लगायतका रमणीय स्थानमा समेत छायाकाँन गरिएको चलचित्र चैत्र १७ बाट देशभर झन्डै ७० वटा हलबाट प्रदर्शनमा आउने बताईएको छ ।