
चैत्र ३ गते अर्थात भोली शुक्रबारका दिनबाट राजधानीका सिनेमा घरमा चल्ने भनिएको चलचित्र 'म तिम्रो भईसकें' लाई चलचित्र संघले चल्न नदिएको निर्देशक बिकाश आचार्यले बताएका छन् ।
विकास बोर्डका प्रवक्ता समेत रहेका आचार्यले बोर्डले गरेको निर्णय प्रति असन्तुष्ट हुँदै संघले आफू बोर्डको सदस्य भएको नाताले चलचित्र चल्न नदिएको बताए । उनले भने, 'रिलिजको तयारी हुँदा एक्कासी संघले चलचित्र चल्न नदिने बतायो । यो निर्णयले मलाई मात्र हैन चलचित्र उधोगलाई नै असर गर्ने देखिन्छ ।' अब चलचित्र रिलिजको टुंगो कहिले लाग्छ यकिनका साथ भन्न नसक्ने आचार्य बताउँछन् । यस्तै बोर्डका अध्यक्ष गणेश भण्डारीले पनि यस्तो निर्णयले गलत छाप छोड्ने बताए ।
यता निर्देशक आचार्यको भनाई प्रति चलचित्र संघले असन्तुष्टी व्यक्त गरेको छ । संघका महासचिव प्रदिप उदयले फिल्मीखबरसँग कुरा गर्दै भने, 'हामीले चलचित्र चल्न नदिने भनेर भनेकै छैनौं । यि सबै हल्ला मात्र हुन् ।' प्रदिपका अनुसार चलचित्रले हल नपाएको कारण यस्तो हल्ला बाहिर आएको हो । चलचित्र चलाउनका लागि गोपीकृष्ण हल मात्र बुक गरिएको र बाँकी हल सबै अरू चलचित्रले बुक भएकोले यस्तो हल्ला बाहिर आएको प्रदिप बताउँछन् ।
प्रदिपले संघको हित बिपरित कुनै काम गरिन्छ भने त्यसको बिरोधमा उत्रने चेतावनी भने दिए । उनले भने, 'जसले हामी माथी बाधा, अबरोध ल्याउँछ त्यसलाई हामी कुनै पनि हालतमा सहयोग गर्दैनौं । तर आचार्यजीको केशमा भने हामी नकारात्मक छैनौं ।' बोर्डले गरेको दश बुँदे निर्णय प्रति भने संघ असन्तुष्ट छ र त्यसको बिरोधमा उत्रने चेतावनी समेत संघले दिईसकेको छ ।