
“यो साँझ यो गीत तिम्रै लागी हो, हार मेरो यो जीत तिम्रै लागी हो' भन्दै नायक तथा गायक बाबु बोगटी मंगलबार कमलपोखरी स्थित ड्रिम्स स्टुडियोमा आफैले अभिनय गर्न लागेको चलचित्र बितेका पलका लागि गीत गाउन मस्त थिए ।
सुरज सुब्बा 'नाल्बो' को निर्देशनमा बन्न लागेको सो चलचित्रमा 'बाटो मुनिको फुलू' बाट डेब्यु गरेका निर्माता राजेश घतानीले निर्माण गर्न लागेका हुन् । चलचित्रमा ५ वटा गीत रहने र ५ वटै गीतको फाइनल भइसकेको निर्माता घतानी बताउँछन् । डम्बर नेपाली, रोशन लामा र बाबु बोगटीको संगीत रहने सो चलचित्रको संगीतकारको रूपमा डम्बर नेपाली र रोशन लामाले डेब्यु गरेका छन् ।
निर्देशक नाल्बो अहिले ब्यस्त भएका कारण चलचित्र फ्लोरमा जान नसकेको निर्माता घतानी बताउँछन् । उनि भन्छन, 'सुरज जी फ्री हुने साथै यो चलचित्र फ्लोरमा जान्छ ।' सत्य घटनामा आधारित चलचित्र 'बितेका पल' मा नायक बाबु बोगटीले अभिनय गर्ने निश्चित छ तर नायिका भने अहिले सम्म टुंगो लागि सकेको छैन । करिब ८० लाखको बजेटमा तयार हुन लागेको चलचित्रको छायाँकन नेपाल तथा विदेशमा गरिने छ ।