
धराने दर्शक माझ प्रतिक्षित चलचित्र मिस यू धरानको शिव सिनेमामा आज मंगलबारबाट प्रदर्शनमा आएको छ । गत फाल्गुन पाँचबाट देशभर एक साथ प्रदर्शनमा आएको चलचित्र मिस यू अन्य स्टेसनहरुमा दर्शकको राम्रो प्रतिक्रिया पाएको चलचित्र हो ।
नेपाली चलचित्रको व्यापार खस्किरहेको अवस्थामा उत्साहजनक व्यापार गरेको चलचित्र 'मिस यू' ले धरानमा पनि राम्रै कलेक्सन गर्ने आशा गरिएको छ । केहि दिन अघि मात्र चलचित्रका निर्माता एवं नायक दिलिप रायमाझी र निर्देशक पोख्रेल धरान आएर चलचित्रको प्रोमोशन समेत गरेका थिए । त्यसो त चलचित्र कि मुख्य कलाकार एवं नायिका नम्रता श्रेष्ठको गृहनगर पनि धरान परेकोले चलचित्रले यहाँ राम्रै सफलता पाउने अपेक्षा गरिएको छ ।
कतारमा प्रथम प्रदर्शनी गरिएको चलचित्र यतिबेला देशका अन्य विभिन्न स्थानहरुमा समेत प्रदर्शन भैरहेको छ । चलचित्र मिस यू चाडै अस्ट्रेलिया, युरोप, अमेरिका लगायतका देशहरुमा समेत प्रदर्शन हुनेछ । तीन घनिष्ट साथीहरूको सम्बन्धलाई मुख्य बिषय बनाईएको चलचित्रमा नम्रता, दिलिपको अलावा बरुण रानाले मुख्य भुमिका निर्वाह गरेका छन् ।