
चलचित्र 'अन्दाज' डेब्यू नायक सबिन श्रेष्ठले आफ्नो ज्यानलाई जोखिममा राखेर दर्शकलाई मनोरञ्जन दिन रावण चलचित्रमा रेल स्टण्ट दिएका छन् । चलचित्रको कथामा ट्विस्ट ल्याउन उनले रियल स्टण्ट दिएका हुन् ।
मालबाहाक रेलको स्पिडमा सबिन अघि अघि दौडन्थे र पछि पछि रेल । 'स्पटमा नपुग्दै कता कता डर देखिएको थियो तर जब स्पटमा पुगें डर भन्ने चिज नै हरायो', सबिनले एक्साईटेड हुँदै भने, 'नो रिक्स नो गेम त्यसैले निर्देशकको आग्रह बमोजिम आफ्नो काम पूरा गरें । सबैको माया पाउँदा मलाई केहि गार्हो भएन ।' काम गर्दा केहि नयाँ गरौ भन्ने लागेर नै रियल स्टण्ट दिएको सबिन बताउँछन् ।
'शुरूमा त ज्यानको खतरा हुने डरले इन्डियनहरूले स्टण्ट गर्न दिएका थिएनन् तर छबि दाईले आग्रह गर्नु भयो र म पनि काम गर्न राजि भएकोले लामो समयको बार्ता पछि उनीहरू राजि भए', सबिनले सुटिङको क्षण सम्झदै भने, 'लिकमा खाल्डा खुल्डी धेरै भएको र रेलको स्पिड पनि धेरै भएकाले उनीहरूले गार्हो मानेका हुन् । तर हामीलाई यहि सिन चाहिने भएकाले केहि मूल्य चुकाएर भए पनि स्टण्ट सफलताका साथ पूरा गर्यौं ।'
चलचित्र भित्रका नेगेटिभ पात्र कमलकृष्णले सबिनलाई बेहोस बनाएर रेलको लिकमा फालि रेखासँग बिबाह गर्न खोजेका हुन्छन् । आफ्नी प्रेमिकालाई भिलेनको हातबाट छुटकारा दिन सबिन लिकबाट उठेर दौडेको बेला रेल उनको पछि पछि आईरहेको सिनलाई पर्दामा दर्शकले आकर्षक रूपमा देख्न पाउनेछन् । चैत्र २७ गते रिलिज हुन लागेको रावणलाई कमलकृष्णले नै निर्देशन गरेका हुन् । चलचित्रमा रेखा, सबिन र कमलकृष्णको साथमा किशोर खतिवडाले पनि अभिनय गरेका छन् । चलचित्रमा चन्द्र पन्तको द्वन्दनिर्देशन रहेको छ ।