मिति : २०८२ ज्येष्ठ २८, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

मिलनको आशामा जीवनको ‘माई लाईफ’

रेम बिक, पोखरा, 2012/03/09

पहिलोपटक प्राप्ती भएको जुनसुकै कुरा मान्छेको लागी प्रिय हुन्छ । कुनै नयाँ कुरो पहिलो पटक पायो भने मान्छेले त्यो कुरा जीवनभर भुल्न सक्दैन । पहिलो पटक पाएको कुराले आफ्नो करिअरमा सकारात्मक प्रभाव पारोस् भन्ने जो कसैको चाहना हुन्छ । नेपाली चलचित्रमा पहिलो पटक अवसर पाएका पोखरेली युवा मिलन शंकर पनि यतिबेला आफुले पाएको पहिलो ब्रेकको नतिजा कस्तो हुने हो भन्ने ढुकचुकीमा छन् ।

म्युजिक भिडियो निर्देशन गर्दै आएका निर्देशक जीवन रसाईलीको चलचित्र ‘माई लाईफ’ आगामी चैत १० गतेबाट नेपालभर स्क्रिनिङ हुँदैछ । ‘माई लाईफ’ मा नायकको रुपमा देखिएका मिलन चलचित्र प्रति निकै आशाबादी छन् । ‘पहिलो पटक चलचित्रमा नायकको रुपमा देखिएको छु’ चलचित्र प्रर्दशन मिति नजिकिँदै गर्दा प्रचारप्रसारमा जुटेका नायक मिलन शंकरले भने, ‘मेरो अगाडीको यात्रा नै चलचित्रको सफलतासंग जोडिएको छ । त्यसैले एकदम नर्भस भैरहेको छु ।’ एक दशक अगाडीदेखि पोखरामा रहेर विभिन्न म्युजिक भिडियोहरुमा मोडलिङ गर्दै आएका मिलन चलचित्रमा अभिनय गरेको पहिलो पटक हो ।

स्कुल पढ्दा आफ्ना साथिभाईहरुले डाक्टर, पाईलट र ईन्जिनियर बन्ने सपना बाँड्दा शंकर भने नेपाली चलचित्रको नायक बन्ने लक्ष्य राख्दथे । ३५ भन्दा बढि म्युजिक भिडियोहरुमा देखिएका मिलन पछिल्लो समय दृष्टिविहिन गायक प्रकाश तिमिल्सिनाले गाएको गीत ‘तिम्रै हातको सिन्दुर लाउँछु तिम्रै हातको चुरा...’ बोलको गीतबाट बढि चर्चामा आए । यो बिचमा कान्तिपुर टेलिभिजनबाट प्रशारणमा आउने सिरियल ‘किलो ट्याङ्गो माईक’ मा समेत देखिन भ्याएका छन् ।

पोखराबाटै बन्न लागेको ठुलो पर्दाको चलचित्र ‘डामाडोल’ मा समेत अनुबन्धनका लागी कुराकानी भैरहेको मिलनले जानकारी दिए । चलचित्र ‘डामाडोल’ नेत्र गुरुङको निर्देशनमा नयाँ सालको शुरुवातसंगै स्पटमा जाने तयारी भैरहेको छ । ‘रिभेन्ज लभस्टोरी’ सेरिजको चलचित्र ‘माई लाईफ’ मा मिलन लभ गुरुको भुमिकामा देखिएका छन् । ‘सिनेमाको पर्दा अगाडी र पछाडी बसेर नै भविष्यलाई उज्जवल बनाउने आशा लिएको छु’, मिलन भन्छन्, ‘मेरो व्यवसाय नै चलचित्र क्षेत्रसंग सम्बन्धि हुनेछ ।’ विभिन्न सडक नाटकहरुमा समेत खेल्न भ्याएका मिलन म्युजिक भिडियोको छायाँकार समेत हुन् ।

चलचित्र ‘माई लाईफ’ मा मिलनसंगै नायकको रुपमा सुरज आरडी, अयुब केसी, यशराज समेत देखिएका छन् । चलचित्रको नायिका झरना थापा हुन् । चलचित्र विश्वास घलेको निर्माणमा तयार भएको हो ।