
यसपालीको होली पर्वलाई सदाका बर्षमा जस्तै सेलिब्रेटीहरूले उल्लासमय तरिकाले मनाए । बिभिन्न टिभी च्यानल तथा एफएमहरूले आयोजना गरेको होली बिशेष कार्यक्रममा सहभागी भएर कलाकारहरूले खुसी साटासाट मात्र गरेनन् कि आफ्नो फिल्मको तथा एल्बमहरूको पनि प्रोमोशन गर्न भ्याए ।
नायिका रेखा थापा एभिन्यूज टेलिभिजन, सगरमाथा टेलिभिजन, हिमालय टेलिभिजन र माउन्टेन टेलिभिजनका होली कार्यक्रममा पुगेर आफ्नो रिलिज हुन लागेको चलचित्र 'रावण' को प्रोमोशन गरिन् । साथै उनले सो चलचित्रको गीत पनि शंकर बिसीको साथमा गाएर दर्शकलाई उफारिन् । यस्तै रेखा संगैको ग्रुपमा रहेका निर्देशक तथा नायक आकाश अधिकारीले पनि आफ्नो चलचित्र 'काठमान्डू' को प्रचार गर्न भ्याए ।
प्रदर्शनको क्रममा रहेको चलचित्र 'चपली हाईट' का निर्माता अर्जुन कुमार पनि अधिकांश मिडियाले आयोजना गरेको होली प्रोग्राममा पुगेर आफ्नै चलचित्रको गीत गाउँदै दर्शकलाई चलचित्र हेरिदिन आग्रह गरे । चलचित्र दुलही रानीको युनिट पनि आफ्नो चलचित्रको प्रोमोशनका लागि अधिकांश होली प्रोग्राममा पुगेको थियो । गायक राजेश पायल राई पनि बिहानै देखि दर्शन नमस्ते भन्दै स्टेजमा उक्लेर दर्शकलाई रोमाञ्चित बनाए ।
निर्देशक दिनेश डिसी, निर्माता अशोक शर्मा, गायक दिपक लिम्बु, सत्यस्वरूप, गायिका मल्लिका कार्की, नायिका जिया केसी, निर्देशक प्रशन्न पौडेल, नायक रेश मरहठ्ठा, राजबल्लभ कोईराला, दिवस उप्रेती, संगीतकार चेतन सापकोटा लगायतका थुप्रै चलचित्रकर्मी होली कार्यक्रममा सहभागी भएका थिए । तर अधिकांश कलाकार शुभकामना आदानप्रदान गर्नु भन्दा पनि आ-आफ्ना चलचित्रका प्रोमोशनमा बढि लागि परेको देखिन्थे ।
होली कार्यक्रमका केहि फोटो फिचर