
चिनो फिल्मको लक्ष्मीपुजाको गितमा सुभद्रा अधिकारीले अभिनय गरेको गित 'दियो बाली साँझको...' तिहारको समयमा मिडियामा गुञ्जयमान हुन्थ्यो त्यसैगरी होलीको समयमा निरूताले पर्फम गरेको बसन्ती सिनेमाको 'रातो निलो हरियो...' बोलको गित अहिले सम्पूर्ण मिडियामा आफूलाई धेरै बज्ने गितको लिष्टमा अब्बल तुल्याएको छ ।
अडियोको हिसाबले हेर्ने हो भने त अझ चलचित्र अधिकारमा राखिएको होलीले रंगायो मेरो नयाँ चोली बोलको होली गीत सबैभन्दा बढि बज्ने गीत हो । राजेश हमाल र कृष्टी मैनाली नाचेको सो गीतको भिजुअल पाउन गार्हो भएकाले पनि बसन्तीको गित बढि हिट देखिन्छ । नीर शाह निर्देशित बसन्तीमा केमियो भूमिकामा प्रस्तुत निरूताको होली गित र नेपाली सिनेमाको प्रसङ्ग हेर्दा जति खुशी लाग्छ त्यति नै नेपाली सिनेमा उद्योगले होलीलाई आफ्नो स्क्रिप्टमा बाध्न नसकेको प्रसङ्ग पनि त्यतिकै नमिठो छ ।
एक बर्षमा ६० देखि ७० वटा सिनेमा रिलिज हुँदा चार वटाको दरले हिसाव गर्ने हो भने सिनेमा गितको संख्या अढाई सय भन्दा बढि हुन्छ । त्यसमध्ये एक दर्जन गित सुपरहिट हुन्छन् भने दुई दर्जन बढी औषतमा गनिन्छन् र बाँकि बज्छन् र कहिल्यै नसम्झने गरी त्यतिकै हराउँछन् । मसलेदार सिनेमाको बाहुल्यता रहेको यो उद्योगमा माया पिरतीका सिनेमा पनि बनेका छन् । तर सम्पूर्ण मसला प्रयोग गर्न सिपालु मेकरहरूले पर्व लक्षित गरी सिनेमा गित तयार गरेको त्यति देखिदैन ।
दशै होस् वा तिहार वा भनौ पर्वमा आधारित अन्य गितहरूलाई प्राथामिकताका साथ सिनेमामा प्रयोग गरिएको पाईदैन । यो बर्ष पर्खि राख हैमा तिहार सम्बन्धी फिल्म गित प्रयोग हुँदा नयाँ स्वादले सो गित तिहार अवधिभर बज्यो । त्यस्तै अन्दाजमा राखिएको तीज सम्बन्धी एक गितले पनि त्यतिकै तारिफ पायो र मिडियामा सो गितले आफ्नो पकड जमाउन त्यतिकै सफलता हासिल गर्यो ।
दशै पनि गयो तिहार पनि गयो अनि अर्को ठूलो पर्व होली आएको छ फेरी एक पटक । तर होलीमा प्रयोग गरिएका फिल्मी गित खोज्ने हो भने मुस्किलले औलामा गनिने मात्र फेला पार्न सकिन्छ । ४७ बर्षे चलचित्रको ईतिहासलाई केलाएर हेर्ने हो भने दुई दशक अघि प्रकाश थापाद्धारा निर्देशत चलचित्र सन्तानमा पहिलो पटक होली गीत समावेश गरिएको थियो यस्तै प्रकाश थापा कै अधिकार र बम्बईबाट आएका निर्देशक राजकुमार शर्माले बनाएको तिलहरीको होली गीत सधैको होलीमा बजाउन मिडिया बाध्य छ । र, दर्शक र श्रोताले तीनै पुराना स्वादलाई ग्रहण गर्नु पर्ने अर्को बाध्यता छ ।
यसैगरी श्रीकृष्ण श्रेष्ठ अभिनित सिता फिल्मको 'आज जनकपुर मे होली है..' भन्ने गित पनि चर्चित मध्येको एक होली गित हो । नेवारी चलचित्र शिलुमा पनि होली गीत राखिएको छ । तर पहाडी समुदायको बाहुल्यता हाम्रो मुलुकमा दशै र तिहार गित निर्माण गर्न सिनेकर्मीले केही चासो देखाए पनि होली गितबाट ब्यावसायिक सफलता नहुने भन्दै उनीहरूले होली गितलाई सिनेमामा प्रस्तुत गरेको पाईदैन । माया प्रेमका कथामा होली गीत टीवष्ट गरि फिल्म 'के यो माया हो' मा २ लाख खर्च गर्दा पनि उक्त गितलाई दर्शकले हेर्न पाएनन् । निर्देशक सुदर्शन थापाका अनुसार सिनेमा लामो भएपछी बाध्य भएर उक्त होली गित सिनेमाबाट काटिएको थियो ।
सयौको संख्यामा नेपाली सिनेमा बनिसकेको अवस्थामा पछिल्लो एक दशक यता होली सम्बन्धी विषयलाई सिनेमामा प्रस्ततु गर्न नसक्नुलाई विभिन्न कोणले समिक्षा गरिएला तर निर्माता छवि ओझा भन्छन्- 'सिनेमाको बिजनेस बढाउने पहिलो माध्यम नै गीत भएकाले पर्वमा आधारित भएर गित निर्माण गर्नु जोखिम हुन्छ त्यसमाथि पनि शुद्ध नेपाली बोल्ने समुदायको बाहुल्यता रहेको हाम्रो मुलुकमा होलीमा प्रयोग गरिएका मिश्रित ल्याङवेजले दर्शक तानिने कुरामा अलि डाउट छ ।' यस्तै भुवन केसी पनि यो बिषयमा त्यति जानकार छैनन् । तिलहरीमा कृष्टीसंग उनले होली गितमा त नाचे तर आफ्ना प्रोजेक्टमा भने उनले होलीलाई समावेश गर्न सकेका छैनन् र भविष्यको प्रोजेक्टमा उनी होली प्रति चासो दिने कलाकारको रूपमा ब्याख्या नगर्न भन्छन् ।