
चैत्र ३ गते रिलिज हुन लागेको चलचित्र 'चपली हाईट' कि मुख्य पात्र बिनिता बराल आफ्नो चलचित्रको प्रोमोशनका लागि रातदिन खटेकी छिन् । 'चपली हाईट' बाटै डेब्यू गरेकी यि चपली गर्ल प्रोमोशनका लागि चौबिसै घण्टा खटिरहेकी छिन् ।
इन्टरनेटमा दैनिक ३ देखि ४ घण्टा चलचित्रको प्रोमोशनका लागि समय खर्चिने बिनिता अन्य समयमा पनि चपली हाईटकै बारेमा अपडेट हुने गर्छिन् । चलचित्रका बारेमा आएका समाचारहरू हेर्न, अर्न्तवार्ता दिन उनी दिनभर जसो नै व्यस्त छिन् । फेसबुक त उनको २४ सै घण्टा अन हुन्छ । बिनिता भन्छिन्, 'मोबाईलबाट भए पनि फेसबुक हरपल हेरिरहेकी हुन्छु ।' चलचित्रका बारेमा अपडेट मात्र हैन नचाहिने कमेन्ट आउन सक्ने खतराबाट मुक्त हुन पनि उनी फेसबुक अन गरेरै बसेकी हुन्छिन् ।
फेसबुकका दुई वटा अकाउण्ट चलाउने बिनिता च्याट भने गर्दिनन् । भन्छिन्, 'च्याट गर्ने समय म सँग छैन बरू आएका म्यासेजहरू भने अपडेट गरेर रिप्लाई गर्छु ।' चपली हाईटको रिजल्टको प्रतिक्षामा रहेकी बिनिता उत्साही पनि छिन् र हल्का नर्भस र मनमा केहि डर पनि बोकेर बसेकी छिन् । उनी भन्छिन्, 'केहि नयाँ गरौं भन्ने लागेर चपली हाईटमा काम गरेकी हुँ । अलि नयाँ नै प्रयोग गरिएको छ त्यसैले यो चलचित्र मेरा लागि वार कि पारको अवस्थामा छ ।'
कामका लागि ज्यान दिएर लाग्ने बताउँछिन् बिनिता । राम्रो रिजल्ट आउँछ भनेर हरेक प्रोजेक्टलाई उनी पहिलो र अन्तिम ठान्छिन् । बिनिता भन्छिन्, 'भोली के हुन्छ कस्लाई के था ? त्यसैले आज जे छ त्यसलाई नै म अन्तिम ठानेर राम्रो बनाउन ज्यान दिएर लागि पर्छु ।' आफ्नो करियर जोडिएकाले पनि यो चलचित्रलाई सफल पार्न उनी रातदिन खटिएकी छिन् । सक्दो मेहनत गरेर राम्रो काम गरेको हुनाले बिनिता रिजल्ट पनि राम्रो आउनेमा बिश्वस्त छिन् ।
सेक्स मनोबिज्ञानमा आधारित चलचित्र 'चपली हाईट' लाई दिपेन्द्र के खनालले निर्देशन गरेका हुन् भने अर्जुन कुमार यसका निर्माता हुन् । चलचित्रमा अमिर गौतम र राज घिमिरे बिनिताको अनस्क्रिन पार्टनर हुन् । यि तीन पात्रको सेक्स रोमान्स चलचित्रमा हेर्न सकिनेछ ।