शुक्रबार र आइतबार भएको पूर्वाञ्चल बन्दले नयाँ रिलिज भएका र केहि समय अघिबाट प्रदर्शनरत चलचित्रको व्यापारमा नकारात्मक असर परेको छ । फाल्गुन १९ गते शुक्रबारबाट देशभरि रिलिज गरिने भनिए पनि ब्राम्हण समाजको बन्दका कारण भुवन केसी निर्मित चलचित्र 'साथी म तिम्रो' पुर्वाञ्चलमा २० गते शनिबार मात्रै प्रदर्शनमा आयो ।
फागुन २१ गते आइतबार बर्हिगमनमा परेका माओवादीका पूर्व लडाकुहरुको बन्दको मार चलचित्र साथी म तिम्रोले खप्नु परेको छ । रिलिजको तेस्रो दिन देशका अन्य स्टेशनमा उत्साहजनक शुरुवात गरेको चलचित्र साथी म तिम्रो पूर्वमा भने तेस्रो दिन सम्म एक दिन शनिबार मात्रै चल्न पाएको छ । पूर्वाञ्चलमा पाथीभरा दमक, दमक चित्र मन्दिर दमक, अन्नपुर्ण बिर्तामोड, गणेश टाकिज धरान, कञ्चन सिनेमा पथरी, भिलेज सिनेमा उर्लावारी, मनकामना झुम्का गरि सातवटा हलहरुमा चलचित्र प्रदर्शनरत छ ।
चलचित्र फागुन २० गते शनिबार प्रर्दशनरत अधिकांश हलमा हाउसफुल भएको चलचित्रको पूर्वको व्यापार हेरिरहेका चलचित्र बितरक चैतन्य बराल बताउँछन् । चलचित्र हेरेका अधिकांश दर्शकले चलचित्र मन परेको बताएका छन् । यस अघि शुरुवाती व्यापार धेरै राम्रो गरेको भनिएका चलचित्रले भन्दा चलचित्र साथी म तिम्रोको शुरुवाती व्यापार तुलनात्मक रुपमा धेरै रहेको बरालले बताए ।
साथी म तिम्रोमा पाँच बर्षको बालक शिर्षक सापकोटा मुख्य भुमिकामा रहेका छन् भने भुवन केुसी, रेखा थापा, ऋचा घिमीरेले पनि अभियन गरेका छन् । साथै चलचित्रमा भुवन केसीका छोरा अनमोल केसी पनि बिशेष भुमिकामा रहेका छन् । चलचित्रको गीतहरुमा शम्भुजित बाँस्कोटाको संगीत रहेको छ भने चलचित्रलाई शिव रेग्मीले निर्देशन गरेका हुन् ।
साथी म तिम्रो मात्र हैन पछिल्लो समयमा रिलीज भएका चलचित्र मिस यू, आई एम सरी, मजवुर पनि पनि बन्दको चपेटामा परेका छन् ।

