
पछिल्लो समयमा प्रदर्शनमा आएका नेपाली चलचित्रहरुले दर्शक हलसम्म तानी रहेको बेला आउदो चैत्र ३ गते तीनै वटा नेपाली चलचित्रहरु एकसाथ प्रदर्शनमा आउने भएका छन् । फ्रेस चलचित्रको रूपमा चपली हाईट र उपत्यका बाहिर रिलिज भईसकेको दुई चलचित्र म तिम्रो भईसकें र सडक रिलिज हुने करिब निश्चित भएको छ ।
बेलाबेला बिबादित बन्दै पब्लिसिटी स्टण्ड पनि राम्रै पाएको चलचित्र चपली हाईटलाई दिपेन्द्र के. खनालले निर्देशन गरेका हुन् भने निर्माता अर्जुन कुमार हुन् । मायाप्रेम अनि सेक्सको बिषयलाई उठान गरेको चलचित्र चपली हाईटमा अमिर गौतम, बिनिता बराल र राज घिमिरेको मुख्य अभिनय रहेको छ र चलचित्र पनि यिनै तीन कलाकारको वरीपरी घुमेको छ ।
भुपेन्द्र खड्काको गीत तथा अर्जुन कुमारको संगीत रहेको सो चलचित्रलाई निरज कँडेलले खिचेका हुन् भने रेनाशा राई करियोग्राफर हुन् । सुर्य थोकरको फाईट रहेको सो चलचित्रको थ्रिल प्रोमो अहिले निकै चर्चामा पनि छ । थोरै बजेटमा चलचित्र निर्माण गरिएकाले निर्माता आफ्नो खल्ती तातो गर्नेमा ढुक्क छन् ।
यस्तै उपत्यका बाहिर खासै उत्साहजनक व्यापार गर्न नसकेको चलचित्र सडकलाई प्रदिप श्रेष्ठले निर्देशन गरेका हुन् । हरि बरालले निर्माण गरेको सो चलचित्रमा रेखा थापा, आयुष रिजाल, सुमीना घिमिरे, अयुव केसी लगायतले अभिनय गरेका छन् । यता भोली शुक्रबार कतारको दोहा हलमा बिशेष स्क्रिनिङ हुन लागेको चलचित्र म तिम्रो भईसकेंलाई बिकाश आचार्यले निर्देशन गरेका हुन् भने जीवन लुईटेल, ऋचा सिंह ठकुरी, अयुब केसी, बिज्ञान सापकोटा यसका मुख्य पात्र हुन् ।
भोलीबाट साथी म तिम्रो
अभिनेता भुवन केसीले निर्माण गरेको बहुप्रतिक्षित चलचित्र 'साथी म तिम्रो' भोली शुक्रबारबाट देशभरीका अधिकांश सिनेमा घरमा चल्दैछ । शिब रेग्मीले निर्देशन गरेको सो चलचित्रमा भुवन केसी, रेखा थापा, ऋचा घिमिरे, शिर्षक सापकोटा लगायतले अभिनय गरेका छन् ।
चलचित्रमा शम्भुजित बाँसकोटाको संगीत र राजेन्द्र खड्गीको द्वन्द निर्देशक छ । बालमनोबिज्ञानमा आधारित सो चलचित्रलाई शम्भु सापकोटाले खिचेका हुन् । चलचित्रमा भुवनका छोरा अनमोल केसी बिशेष भुमिकामा प्रस्तुत भएका छन् ।
भुवन केसीको चलचित्र भने सिंगल रिलिज हो । किनकी भोली अन्य कुनै नेपाली चलचित्र रिलिज हुने छैनन् । त्यसैले पनि भुवनले निर्माण गरेका यस अघिका चलचित्र सफल भएकाले यो पनि सफल हुने अंकलन गरिएको छ ।