
गलत संगतको परिणाम गलत नै हुन्छ भन्ने मुख्य थिममा आधारित भएर निर्माण गरिएको सिनेमा 'काठमाण्डू' ले परिणाम सहि निकाल्दै रिलिज भएको तीन सातामै आफ्नो भोजपुरी राईट भारी रकममा बेचेको छ ।
शुक्रबार प्रेस मिट गर्दै द स्काई मुभिजले २४ लाख नेपाली रूपैयामा काठमाण्डूको भोजपुरी डविङ राईट श्री गहवा माई फिल्म प्रोडक्सन कम्पनीलाई बेचेको हो । कार्यक्रममा गहवा माईका तर्फबाट प्रमुख कार्यकारी निर्माता अनिल गुप्ता र स्काई मुभिजको तर्फबाट अध्यक्ष एवं सो चलचित्रका निर्देशक आकाश अधिकारीले एग्रीमेन्ट पेपरमा हस्ताक्षर गरेका थिए ।
केही दिन अघि आफ्नो कम्पनीको तर्फबाट ६ जनाको समूहमा गएको टिमले विग सिनेमामा काठमाण्डू हेरे पश्चात सिनेमाको पिक्चर क्वालिटी र कथाले आफूहरूलाई तानेको भन्दै निर्माता गुप्ताले भोजपुरी मार्केटका यो सिनेमाले राम्रो ब्यापार गर्ने भन्दै सिनेमा किनेको बताए । नेपालको स्क्रिनिङ सकिए लगत्तै 'काठमाण्डू' बिहार, यूपिका सम्पूर्ण स्टेशन तथा नेपालका तराई बेल्टमा रहेका भोजपुरी दर्शकको बाहुल्यता रहेको स्थानमा रिलिज गर्ने बताएको छ । तर यो रिलिज नेपालको सम्पुर्ण स्टेशनबाट काठमाण्डू उत्रिए पछी मात्र हुने निर्देशक अधिकारीले जानकारी दिए ।
काठमाण्डू राजधानीको स्क्रिनिङबाट मोफसलका केही स्टेशनमा क्रमिक रूपमा रिलिज भैरहेको छ । भोजपुरी भाषामा समेत राम्ररी बोल्न जान्ने आकाशले आफ्नो डविङ स्वयम गर्ने बताईएका छन् भने बाकी कलाकारको डविङ अडिसनबाट गर्ने बताए । उनले भने, 'मेरो सिनेमाको भोजपुरी भर्सन नराम्रो नहोस भनेर म आफैले उपयूक्त भ्वाईस भएको ब्यक्ति छनौट गर्दै उहाँहरूलाई सिफारिस गर्ने छु ।' सिनेमाको डविङ उनकै रेड स्टूडियो महाराजगञ्जमा हुने छ ।
यस्तै भारी रकममा नेपाली सिनेमा भोजपुरी मार्केटमा विक्रि भएको प्रसङ्गलाई निर्माता संघका अध्यक्ष राजकुमार राईले नयाँ आयमको सुरूवात भएको भन्दै सिने उद्योगका लागि यो नतिजा कोशेढुङ्गा भएको संज्ञा दिए । कार्यक्रममा स्काई मुभिजले निर्माताहरूको तर्फबाट केही साता अघि चलचित्र बिकास बोर्डको सदस्य पदमा नियूक्त निलहरी काफ्लेलाई स्वागत एवं सम्मान गरेको थियो । तीन साता अघि राजधानीका डेढ दर्जन सिनेमा घरमा रिलिज भएको काठमाण्डूले आजको मिति सम्म ६५ लाख ग्रस मार्क गरेको आकाशले जानकारी गराए । जुन सकारात्मक कलेक्सन हो ।