
सोमबार विहान १० बजेको समयमा पोखराका सर्वसाधारणहरु केहि अचम्ममा परे । १ सय ५० भन्दा बढि मोटरसाईकल एकाएक सभागृह चोकबाट न्यूरोड तर्फ हान्निए पछि कतै केहि हुन लागेको त होईन भनेर कतिपयले शंका समेत गरे । कतिपयले मोटरसाईकल र्याली कुनै राजनीतिक दलले निकालेको हुनसक्ने लख काटे । तर मोटरसाईकल भन्दा अगाडी चलचित्रको प्रचारप्रसार गर्ने गाडी र नायक स्वयंलाई देखेपछि सर्वसाधारणलाई बल्ल थाहा भयो यो त चलचित्रको र्याली पो रहेछ ।
संभवत नेपालमै पहिलोपटक यसरी दर्शकहरु कुनै चलचित्र राम्रो लागेर एकसाथ मोटरसाईकल र्यालीमा उत्रिएका थिए । स्वत: स्फुर्त रुपमा निस्किएको र्याली चलचित्र काठमाण्डूको लागी थियो । आकाश अधिकारी निर्देशित तथा अभिनित चलचित्र काठमाण्डू यतिबेला पोखराको वाराहि ‘क’ चलचित्र मन्दिरमा प्रदर्शन भईरहेको छ ।
अहिलेको समाजमा के बितिरहेको छ ? समाज कुन तवरले अगाडी बढिरहेको छ ? समाजमा विकृति र विसंगतिको रुप कस्ता छन् ? यस्तै यस्तै विषयलाई चलचित्रले सम्बोधन गर्दछ । नेपाल सरकार चलचित्र विकास बोर्डबाट विशेष चलचित्रको मान्यता पाएको चलचित्र काठमाण्डू सबै व्यक्तिले हेर्नुपर्ने चलचित्र रहेको चलचित्र हेरेका दर्शकहरुले बताउँदै आएका छन् ।
आफ्नो चलचित्रका लागी पोखराका युवापुस्ताले स्वत: स्फुर्त रुपमा र्याली निकालेर अरुलाई पनि हेर्नका लागी सिफारिश गरिदिए पछि निर्देशक आकाश अधिकारी निकै प्रसन्न मुद्रामा देखिन्थे । चलचित्र निर्माणका लागी आफुले गरेको दु:खलाई पोखराको दर्शकहरुले दिएको मायाका कारण आफुले भुलेको निर्देशक अधिकारीले प्रतिक्रिया दिए ।
काठमाण्डौ उपत्यका प्रदर्शनमा आएर चर्चा पाईसकेको चलचित्र काठमाण्डू हलिउड, बलिउड र कलिउडका कलाकारहरु एउटै चलचित्रमा अटाएका कारण पनि निकै चर्चामा रहेको छ । राहुल प्रधानको संगीत रहेको चलचित्रको सबै गीत बलिउडका गायकगायिकाले गाएका छन् । चलचित्र अमेरिकाको सनफ्रान्सिस्को र काठमाण्डौ वरिपरी छायाँकन गरिएको हो ।