
चलचित्र निर्देशक समाजले आयोजना गरेको दोस्रो अर्न्तराष्ट्रिय चलचित्र कार्यशालामा बनेका चलचित्र मध्ये निर्देशक सुदर्शन थापा, देबकुमार श्रेष्ठ, दिनेश कार्की, ज्ञानेन्द्र देउजा, शम्भु केसी, युग पाठक, नारायण रायमाझी, सविन बाँस्तोला सहित रंगपत्रकार सन्तोष रिमाल, सरोज केसी र सुशिल पौडेलको टिमले बनाएको 'साईलेन्ट क्राई' नामको छोटो चलचित्र उत्कृष्ट भएको छ ।
दोलखाको चरिकोटमा आयोजन भएको सो कार्यशालामा उपस्थित सहभागीहरूले सात वटा छोटा चलचित्र बनाएका थिए । तिनै साथ चलचित्र मध्ये थामी समुदायमा प्रचलित बालविवाहमा आधारित छोटो चलचित्र 'साईलेण्ट क्राई' उत्कृष्ट हुँदै सात हजार नगद पनि प्राप्त गरेको छ । माघ २७ देखि फागुन ४ गतेसम्म चलेको सो कार्यशालामा दोलखाका स्थानीय कथावस्तुलाई आधार बनाएर चलचित्र निर्माण गरिएका हुन् । चलचित्र निर्माण गर्नु अघि बिदेशी प्रशिक्षक ड्रागन मिलिन्कोभिक, योङ टिक चोई र प्रमेन्द्र मजुन्दारले कार्यशालामा उपस्थित निर्देशकहरूलाई प्रशिक्षण दिएका थिए ।
कार्यशालामा सहभागीहरूलाई समुहमा बिभाजन गरि दुई भित्रमा चलचित्र बनाउन लगाईएको थियो । छोटो समयमा पनि सहभागीहरूले राम्रो चलचित्र बनाएर देखाएको समाजका अध्यक्ष केपी पाठकको भनाई थियो । टोली भोली शुक्रबार काठमाण्डौ फर्कने छ ।