
नेपाली चलचित्रको बजार बिस्तार गर्ने क्रमलाई अगाडी बढाउने प्रयास स्वरूप चलचित्र विकास बोर्डले निर्देशक तथा बोर्डका प्रवक्ता बिकास आचार्यलाई अर्न्तराष्ट्रिय विभाग प्रमुखको जिम्मा दिईेको छ । आईतवार बसेको बोर्डको बैठकले सल्लाहकार समिती हेरफेर गर्दै आचार्यलाई बिदेश बिभाग प्रमुखको जिम्मा दिएको हो ।
नेपाली चलचित्रलाई विदेशको प्रदर्शनलाई व्यस्थित बनाउनका लागि अर्न्तराष्ट्रिय सम्वन्ध र बजार विस्तार समिती गठन गरि आचार्यलाई त्यसको प्रमुख बनाएको अध्यक्ष गणेश भण्डारीले फिल्मीखबरलाई बताए । आचार्यले विदेशमा नेपाली चलचित्रका प्रदर्शनका लागि बोर्डले महोत्सव नै आयोजना गर्ने र स्तरिय चलचित्रलाई मात्रै विदेशको प्रदर्शनका लागि अनुमति दिने बताए । उनले भने, 'नेपाली चलचित्रको विकासका लागि हामी डायस्पोरमा स्तरिय चलचित्रलाई नै प्राथमिकतामा राख्नेछौं ।'
नेपाली चलचित्रको प्रदर्शनका लागि विदेशी दुतावास मार्फत गर्न लागको यो कार्यले भविष्यमा कस्तो रूप लिने हो त्यो त हेर्न बाँकी नै छ तर हामी आश गर्न सक्छौं कि बोर्डको यो निर्णयले नेपाली चलचित्रको अर्न्तराष्ट्रिय मार्केट फराकिलो हुनेछ ।
आजको बैठकले बोर्डको सल्लाहकार समितीमा बोर्डका पूर्वअध्यक्ष शैलेश आचार्य, शम्भुजित बाँस्कोटा र अभिनेता कृष्ण मल्ललाई नियुक्त गरेको छ भने मोहन सर्राफलाई सल्लाहकार पदबाट हटाएको छ । यस्तै चलचित्र निर्माता संघका अध्यक्ष राजकुमार राईलाई चलचित्रकर्मी कल्याण कोषको सदस्य पदमा नियुक्त गरिएको छ । बैठकले केहि दिनमा तीन महिने कार्ययोजना समेत सार्वजनिक गर्ने निर्णय गरेको बुझिएको छ ।