२०६९ बैशाख पन्ध्र गतेको देशब्यापी रिलिज डेटसंगै चलचित्र 'भैहाल्छ नि' को टाईटल गीतबाट प्रोमोशन सुरू गरिएको छ । एमएस अग्रजको निर्देशनमा तयार भएको उक्त चलचित्रको नेपाली भर्सनको टाईटल गीत फिल्मीखबर मार्फत वर्ल्ड प्रिमियर गर्दै निर्देशक अग्रजले सिनेमा रिलिज काउन्टडाउन सुरू गरिएको जानकारी गराए ।
सिनेमा नृत्य विद्यामा चर्चा बटुलेका दिनेश अधिकारी र आर के पाण्डेले संयूक्त रूपमा निर्माण गरेको उक्त चलचित्रको सार्वजनिक गीतमा यादव योगी र गोविन्द आचार्यको संयूक्त संगीत रहेको छ भने डेब्यू गर्दै विशाल पोखरेलले गरिमा पन्तसंग अनस्क्रिन रोमान्स गरेका छन् । गीतलाई असिम राईले गाएका हुन् । जो सिनेमाको क्षेत्रका नयाँ गायक हुन् ।
चलचित्रमा सुमन सिह, सोनिया केसी तथा सुनिल थापा पनि लिड रोलमा छन् । गीत हेर्दा सफा तरिकाले खिचिएको उक्त सिनेमाका क्यामेरा पर्सन हरि हुमागाई हुन् । जिवनमा जस्तो सुकै घटना घटेपनि सकारात्मक दृष्टीले हेरौ भन्दै टाईटल भैहाल्छ नि राखिएको बताउदै अग्रजले सिनेमा पूर्ण रूपमा कमर्सियल शैलीमा निर्माण गरिएको बताए । 'यो नेपाली भर्सनको गीत हो अंग्रेजी भर्सनको अलिकपछी सार्वजनिक गछौ', गितको बारेमा उनले भने । सिनेमाको अन्य गीत र प्रोमो फिल्मीखबर मार्फत वर्ल्ड प्रिमियर हुदै जाने छन् ।

