अभिनेत्री सुशिला रायमाझीको निधन भएको आज १३ दिन भएको छ । यहि तेह्रौ पुण्य तिथिका अबसरमा चलचित्र कलाकार संघले उनी प्रति समर्पित गर्दे श्रद्धाञ्जली कार्यक्रम समेत आयोजना गर्दैछ ।
अपरान्ह ३ बजे संघको कार्यालय अनामनगरमा हुने कार्यक्रममा चलचित्रकर्मीले सुशिलाको ब्यक्तित्व र नेपाली सिनेमामा उनको योगदानको चर्चा गर्ने छन् । डबल क्यान्सरले सुन्दर रुप कुरुप भैदिदा कुनै पनि चलचित्रकर्मीलाई नभेटि विदा भएकी रायमाझीलाई कलाकार संघका अध्यक्ष रमेश बुढाथोकीले भर्षटायल कलाकारको संज्ञा दिएका छन् ।

श्रद्धाञ्जली कार्यक्रमको बिषयमा फिल्मीखबरसंगको कुराकानीमा बुढाथोकीले भने, 'उहाँ भर्षटायल कलाकार हुनुहुन्थ्यो । त्यसैले पनि हामी उहाँलाई बरिष्ठ कलाकार भनेर सम्बोधन गर्थ्यौं । उहाँको रिक्त स्थान कसैले पनि पूरा गर्न सक्दैन ।'
नेपाली सिनेमाकी चर्चित हस्ती चरित्र अभिनेत्री सुशिला रायमाझीको माघ ११ गते निधन भएको हो । यध्यपी उनी निधन भएको खबर माघ १२ गते मात्र मिडियाले थाहा पाएका थिए र सोही दिन सुशिलाको परिवारले मध्यरातमा उनको गुपचुप ढङ्गले दाहसस्कार गरेको थियो ।

