मेप्राङ्ग फिल्म प्रोडक्सनको दोश्रो प्रस्तुति गुरुङ भाषा र साँस्कृतिमा आधारित गुरुङ चलचित्र 'मिग्ली' अर्थात आँसु यही चैत्र ४ गते पोखरामा प्रदर्शन हुने भएको छ ।
पृथ्वीचोक स्थित स्टार स्टुडियोमा चलचित्र मिग्लीको सम्पादन कार्य अन्तिम चरणमा पुगेको र यही चैत्र ४ गते पोखराको सभागृहमा १ दिन विशेष प्रर्दशन गर्ने चलचित्रका निर्माता राजु गुरुङ्गले जानकारी दिए । उनका अनुसार विहान ९ वजे, दिउसो १२ वजे र अपरान्ह ३ वजे गरी चलचित्रको ३ शो गरिने छ । चलचित्र मेप्राङ्ग, मोहरिया र सात तालको वगैचा लेखनाथस्थित भण्डारढिक र पोखराका विभिन्न स्थानहरुमा छायाङ्कन गरिएको छ ।
होम गुरुङको निर्देशनमा लाहुरे प्रथा र प्रेमकथालाई आधार बनाई निर्माण गरीएको चलचित्र मिग्लीका निर्माता रामबजार निवासी राजु गुरुङ, लेखनाथ सैनिकवस्ती निवासी राजु गुरुङ र तल्लो गगनगौडा लेखनाथ निवासी ओम गुरुङ हुन् । दिपकमान उदासले छायाङ्कन गरेको सो चलचित्रमा राजु गुरुङ, विष्णु गुरुङ, जसु गुरुङ, लक्ष्मी गुरुङ, देवी गुरुङ, हिमान्सु गुरुङ, खुशीमान गुरुङ र वीर माया गुरुङले अभिनय गरेका छन् ।
रोशन गुरुङले लेखेको उक्त चलचित्रका गीतहरुमा गायक धन वहादुर र गायिकाद्धय शान्ती गुरुङ र कुसुम गुरुङको स्वर छ । त्यस्तै चलचित्रमा लबसन गुरुङ र अमन गुरुङले नृत्य निर्देशन गरेका छन् । चलचित्र मिग्लीले व्यवसायिक रुपमा सफलता हासिल गर्न सके युनिटले अर्को नयाँ चलचित्र बनाउने भएको छ । युनिटले तमु नोर्वै ता अर्थात तमु भित्रको कुरा चलचित्र निर्माण गरीने निर्माता राजु गुरुङले जानकारी दिए ।

