माघ २० गते शुक्रबारबाट दुई फरक धारका चलचित्र प्रदर्शनमा आउँदैछन् । काठमाण्डूलाई नजिकबाट नियालेको चलचित्र 'काठमाण्डू' र पैसाको लोभलालचलाई देखाईएको कमेडी धारको चलचित्र 'छबिलाल कन्जुस छैन' एकैसाथ राजधानीमा सिनेमा घरमा व्यवसायिक प्रतिष्पर्धा गर्दैछन् ।
काठमाण्डू र अमेरिकाको जीवनशैलीलाई दर्शकमाझ प्रस्तुत गर्न खोजिएको चलचित्र 'काठमाण्डू' राजधानीका बिग सिनेमा, क्यू एफएक्स, गोपी, गुण, अष्टनारायण, बाराही, बिश्वज्योती, गंगा लगायतका सिनेमा घरमा चल्दैछ भने 'छबिलाल कन्जुस छैन' राजधानीका केहि सिनेमा घर सहित राजधानी बाहिरका अधिकांश डिसिएन जडित हलमा लाग्दैछ । काठमाण्डूको राजधानी बाहिर रिलिज भने अर्को साता हुने बताईएको छ ।
चलचित्र 'काठमाण्डू' युनिटले रिलिजको पूर्व सन्ध्यामा कमलपोखरी स्थित बिग सिनेमामा आज साँझ भव्य प्रिमियर समारोहको आयोजना गर्दैछ भने छबिलालको प्रिमियरको कुनै तयारी गरिएको छैन । 'काठमाण्डू' को प्रिमियरमा सञ्चारकर्मी र चलचित्रकर्मीको बाक्लो उपस्थिती हुने निर्माण युनिटको भनाई छ ।
आकाश अधिकारी निर्देशित चलचित्र 'काठमाण्डू' मा आकाश अधिकारी, रिया मार्फी, रेश मरहठ्ठा, प्राप्ती घिमिरे, ममता प्रधान, संयुक्ता राणा, गौरी मल्ल लगायतको मुख्य भुमिका रहेको छ भने ज्ञानेन्द्र देउजा निर्देशित चलचित्र 'छबिलाल कन्जुस छैन' मा राजेश हमाल, सुमन सिंह, निर शाह, सुमिना घिमिरे, बिष्णु सापकोटा लगायतको मुख्य भुमिका रहेको छ ।
दुबै चलचित्रले आ-आफ्नै बिशेषता बोकेकाले कलेक्सनमा खासै असर नपर्ने सम्बन्धित चलचित्रका निर्माता बताउँछन् । दुबै चलचित्रका निर्माताले आफू सेभ हुने बिश्वास व्यक्त गरेका छन् । निर्माता त ढुक्क छन् तर दर्शकले कुन चलचित्रलाई बढि रूचाउने हुन् त्यसका लागी दुई/चार दिन कुर्नै पर्ने हुन्छ ।

