बक्स अफिस स्थापनामा चलचित्र निर्माता संघ र चलचित्र बिकास बोर्डले चासो नदिंदा कुन सिनेमाले कति कलेक्सन गर्यो भन्ने बिषयमा आधिकारिकता नहुँदा कलेक्सनको बिषयमा मिडिया पिच्छे विभिन्न भनाईहरू आईरहन्छन् ।
इज्जतलाई माथि राख्दै सिनेमाले घाटा खाए पनि नाफा भयो भन्ने परिपाटी यो उद्योगमा धेरै हुँदा कसको भनाईलाई आधिकारिकता दिने भन्ने बिषयमा मिडिया पनि अन्यौल छ । यहि अन्यौलका बीच आफ्नो सिनेमाले राम्रो ब्यापार गरेपनि नकारात्मक हल्ला फैलाएको भन्दै निर्देशक रक्षा सिंह राणाले आपत्ती जनाएकी छिन् ।
राजधानी सहित देशभरिका करिब ३ दर्जन सिनेमा घरमा मात्र रिलिज भएको द गेमले आफ्नो लागनी सेभ गरको उनले दावी गरेकी छिन् । फर्मूला शैलीको उक्त सिनेमाले राजधानीमा भने राम्रो ब्यापार नगरेको उनले स्विकारिन् । रक्षाले भनिन्, 'राजधानीमा मेरो सिनेमाले सोचे जस्तो बिजनेस गरेन तर पूर्व र पश्चिममा चाहि राम्रो गरेको हो ।' उनले भनिन्, 'द गेमले निर्माताको खल्तीमा करिब ३५ लाख भरिदिएको छ जुन सेभ हो ।' द गेम अझै ४० बढी साना थिएटरमा रिलिज हुन बाँकि रहेको र आफू सो चलचित्रको व्यापारबाट सन्तुष्ट रहेको भन्दै रक्षाले त्यसको सिक्वेल बनाउने घोषणा गरेकी छिन् ।
प्रोमोशन दौडाहामा दर्शकबाट सिक्वेलको प्रस्ताव ज्यादा आएपछी रक्षाले द गेमको पार्ट 2 बनाउने निर्णय गरेको बताईन् । तर उनले द गेमको सिक्वेल भन्दा अगाडी सानुमाया नामको चलचित्र बनाउने बताईन् । उनले चलचित्रको स्क्रिप्टको काम अन्तिम चरणमा पुगेको बताउँदै बैशाख देखि फ्लोरमा जाने समेत बताईन् । कलाकार फाईनल भईनसकेको चलचित्र सानुमाया खिच्नका लागी रक्षाले आफैं क्यामेरा मगाउँदै छिन् ।

